प्रदेशसभामा बैठकमा राष्ट्रपतिको आलोचना

विराटनगर । दलीय राजनीतिक गतिविधिमा सक्रियता जनाएको भन्दै प्रदेश १ प्रदेशसमा राष्ट्रपतिको आलोचना भएको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले राष्ट्रपति साझा भावनाका साथ चल्नुपर्ने भएपनि नेकपाको अदृश्य अध्यक्षको भूमिकामा देखा परेको भन्दै आलोचना गर्नुभएको हो ।

राजनीतिक सक्रियता जनाउन र चलखेल गर्ने मन भए मार्गप्रशस्त गर्न आग्रह गर्दै कार्कीले नेकपा विवादमा राष्ट्रपतिको सक्रियताप्रति आलोचना गर्नुभएको हो । ‘नेकपाका दुई जना अध्यक्ष वास्तममा अध्यक्ष नभई उपाध्यक्ष रहेछन् र अध्यक्ष राष्ट्रपति हुनुहुँदो रहेछ,’ प्रमुख सचेतक कार्कीले भन्नुभयो, ‘यस्तो भूमिकाले मुलुकको सर्वोच्च पदको गरिमा समाप्त पार्ने काम हुन्छ ।’

शुन्य समयमा बोल्दै उहाँले प्रदेश सरकारले जोरजबरजस्ति गरेर मनमोहन विश्वविद्यालय सम्बन्धी विधेयक पारित गर्नुको अर्थ खुलेको भन्दै अनियमितताको आरोपसमेत लगाउनुभएको छ । मनमोहन पोलिटेक्निक प्रदेश सरकारमा हस्तान्तर भएर विश्वविद्यालयमा गाभिएपछि पनि पोलिटेक्निकको नाममा बजेट विनियोजन हुनु भ्रष्टाचार भएको उहाँको भनाइ छ ।

बैठकमा सरकारले विदेशी सरकारी सेवामा काम गरेवापत पेन्सन पाउने नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलव्ध नगराउने भनि गरेको व्यवस्था खारेज हुनुपर्ने विषयमा पनि कुरा उठेको छ । प्रदेशसभा सदस्यहरु संघीय लोकतान्त्रिक मञ्चकी बिष्णु तुम्बाहाम्फे, नेकपाका राजन राईलगायतले उक्त मुद्दामा बोल्नुभएको थियो ।

फर्म दर्ता विधेयक पारित
यसैबीच प्रदेशसभाको सोमबार बसेको बैठकबाट प्रदेशस्तरमा फर्म दर्ता, नविकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियैतले विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

सोमबार, ०५ साउन, २०७७, साँझको ०७:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर