नेकपा शीर्ष बैठक निष्कर्षविहीन, भोलिको स्थायी समिति बैठक नरोकिने

काठमाडौं । बिहीबार करीव तीन घण्टासम्म नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपालसहित भएको छलफल निश्कर्षमा पुग्न नसकेपनि अब स्थायी समिति बैठक बस्ने भएको छ ।

नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको भएपनि शुक्रबारको स्थायी समिति बैठक बस्ने सहमति भएयको वार्तामा सहभागी पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि नेता माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्री राजनीतिक र कुटनीतिक रुपमा असफल भएकोले राजिनामा दिन आग्रह गरेका थिए । ओलीले राजिनामा नदिन अडान कायमै राखेकोले सहमति नजुटेको हो ।

बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि खुमलटारमा बहुमत सचिवालय सदस्यहरुको बैठक बसेको थियो । बैठकमा ओली समझदारीमा नआए शुक्रबारको बैठकले निर्णय गर्नुपर्ने मत बहुमत नेताहरुले राखेको बताइएको छ ।

गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहित स्थायी समितिका ३२ नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएका थिए । तर, ओलीले राजीनामा नदिने बताउँदै आएका छन् ।

नेताहरुबीच पार्टी एकताअघिको २०७५ जेठ २ मा भएको सहमति अनुसार अघि बढ्ने कि २०७७ मंसिर ५ को सहमतिअनुसार अघि बढ्ने भन्नेमा मतभेद छ । प्रचण्डसहतिका नेताहरु जेठ २ को सहमतिअनुसार ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् भने ओली मंसिर ५ को सहमति अनुसार नै अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

जेठ २ मा ५ वर्षे कार्यकालमा आधाआधा समय ओली र प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति छ भने मंसिरमा पुरै समय ओलीले सरकारको नेतृत्व गर्ने र पार्टीको एकता महाधिवेसनसम्म प्रचण्डले पार्टी नेतृत्व गर्ने सहमति भएको थियो । दुवै सहमतिलाई नयाँ ढंगले व्याख्या गर्दै त्रिपक्षीय सहमतिका आधारमा अघि बढ्नुपर्ने वरिष्ठ नेता नेपाल पक्षको भनाइ छ ।

बिहिबार, ०१ साउन, २०७७, दिउँसोको ०४:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर