विराटनगर । विभिन्न अभिव्यक्तिको कारण विवादमा तानिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धमा अर्को विवादास्पद समाचार बाहिर आएको छ ।
मंगलबार सार्वजनिक समाचारहरुमा प्रधानमन्त्री ओलीको नाममा स्वीस बैंकमा ५५ लाख अमेरिकन डलर अर्थात् ६६ करोड नेपाली रुपैयाँ रहेको बताइएको थियो । ग्लोबल वाच एनालाइसिसको हवालामा प्रकाशित समाचारहरुको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खण्डन गर्नुभएको छ ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैङ्कको खातामा साढे ५ मिलियन अमेरिकी डलर रहेको रिर्पोट तथाकथित र कपोलकल्पित भएको बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सल्लाहाकार थापाले ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले स्वीस बैंकमा खाता र साढे ५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको उल्लेख गर्नुभएको छ । ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय सञ्चारमाध्यमहरूको रवैया खेदजनक छ ।’