विराटनगर । साढे ३३ किलो सुन तस्करी तथा मोरङको उर्लाबारी सनम शाक्य हत्या प्रकरणमा अभियुक्त हरिशरण खड्कालाई मोरङ अदालतले थुनामा राख्न आदेश दिएको छ ।
मोरङ अदालतमा मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले प्रतिवादी खड्कालाई थुनामा राख्न आदेश दिनुभएको हो । थुनछेक बहसपछि तत्कालको प्रमाणका आधारमा खड्कालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको मोेरङ अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिनुभयो ।
गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका खड्कालाई प्रहरीले मंगलबार अदालतमा बुझाएको थियो । प्रतिवादी खड्काको अदालतमा मंगलबार बयान सकेपछि सोही दिन थुनछेक बहस भएको थियो । प्रहरीले आवश्यक कारबाहीको लागि खड्कालाई सोमबार अदालतमा बुझाएको थियो । तर कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न प्रहरीले आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अदालतले तत्काल काम कारबाही रोकेर उनलाई फिर्ता पठाएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि रिपोर्टसहित उनलाई प्रहरीले मंगगलबार बुझाएसँगै अदालतले कारबाही अघि बढाएको थियो ।
खड्कालाई आइतबार राति ११ बजे मोरङ ल्याइपु¥याइएको हो । १४ वर्ष अघि कामदारका रुपमा दुवई गएका काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि भने उतै लुकेर बसेका थिए । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती समूहले दुवईबाट २०७४ साल माघ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव बनाइएको थियो ।
अनुसन्धानबाट हराएकोसहित अरु पनि सुन तस्करीमा खड्काको संलग्नता रहेको पत्ता लाग्यो । खड्का गोरेका सहयोगी हुन् । तस्करीको सुन गायव भएपछि गोरे समूहले करेन्ट लगाउँदै यातना दिएर २०७४ साल फागुन १९ गते शाक्यको हत्या गरेपछि घटना बाहिर आएको थियो । अहिलेसम्म पनि उक्त सुन कहाँ छ भन्ने बारेमा केही खुलेको छैन । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर खड्काले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।
पछिल्लो समयमा मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।