विराटनगर । प्रदेश १ मा झण्डै ७० प्रतिशत रोपाइँ भइसकेको छ । साउन लाग्नु अगाडि नै ७० प्रतिशत रोपाई सम्पन्न हुनु सकारात्मक भएको कृषि प्राविधिकहरुले बताएका छन् । नियमित वर्षाका कारण धानको बीउ राख्नेबेलादेखि रोपाईसम्म सहजरुपमा अघि बढेकोले अघिल्लो वर्षको तुलनामा समान अवधिमा राम्रो रोपाई भएको हो ।
प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार साँझसम्म ६९.८३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार प्रदेश १ मा धान रोपार्इं हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ३८ हजार ७ सय दशमलव ४१ हेक्टर क्षेत्रफलमा रोपार्इं भइसकेको छ । यो कुल क्षेत्रफलको ६९ दशमलव ८३ प्रतिशत हो ।
अन्न भण्डारको रुपम चिनिएका तराईका झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी ७३ दशमलव १६ प्रतिशत रोपार्इं भएको छ । जसमध्ये हालसम्म झापामा ७५, मोरङमा ७० र सुनसरीमा ७५ प्रतिशत रोपाईं भएको छ । तराईको झापा, मोरङ र सुनसरीमा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । त्यसमध्ये एक लाख ६५ हजार १८५ हेक्टर क्षेत्रफलमा रोपाईं भइसकेको छ ।
यसैगरी मध्य पहाडको इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, उदयपुर र खोटाङमा ७६ प्रतिशत र उच्च पहाडको ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा हालसम्म ५८.४ प्रतिशत रोपाई भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मध्य पहाडी क्षेत्रमा ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइ हुनेमध्ये हालसम्म ५८ हजार ८ सय २७ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ ।
गतवर्ष असार ३२ सम्म प्रदेशमा ३६ दशमलव २८ प्रतिशत मात्र रोपाई भएको मन्त्रालयले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष चाँडै मनसुन सक्रिय भएको कारणले रोपाइ चाँडो भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए ।