चिसाङ खोलाले कृषि फार्म बगाउँदा करोड बढी क्षति

विराटनगर । चिसाङ खोलाले कटान गर्दा मोरङको रंगेली १ मा सञ्चालित एउटा कृषि फार्ममा ठूलो नोक्सानी भएको छ ।

सोमबार अपरान्ह चिसाङले माता पाथिभरा कृषि फर्मको करिव ३ बिघा जमिन कटान गरेको छ भने त्यहाँ हुर्किएका ११ सय रुखपनि बगाएको छ ।

रंगेलीको आमतोलादेखि करिव २ किलोमिटर उत्तर पूर्वमा रहेको फर्मको ४ बिघामध्ये ३ बिघा जमिन बगाएको सञ्चालक पुण्य भट्टराईले जानकारी दिनुभएको छ । फर्ममा २० फित भन्दा अग्ला विभिन्न प्रजातिका रुखहरु थिए । ‘केही समय अघि मात्र ३२० वटा रुख बिक्रीको कुरा हुँदा २५ लाख दिन तयार भएका थिए,’ भट्टराईले भन्नुभयो ‘अहिले खोलाले एकैछिनमा सबै रुख र फर्म स्वाहः बनाइदियो, सात बर्षमा जङ्गल बनाएको ठाउँमा अहिले खोला कुद्न थाल्यो ।’

खोलाले कटान गर्दा फर्ममा रहेका खसीबोका र बाख्रा पनि खोलासँगै बगेका छन् । फर्मका गाई र मानिस भने जोगिएका छन् ।

नदी कटानका कारण फर्मको झण्डै १ करोड ५० लाख बढी सम्पति क्षति भएको सञ्चालक भट्टराईले बताउनुभएको छ । फर्मले सिर्जना फाइनान्सबाट लिएको कर्जा तिर्ने आधार पनि खोलाले समाप्त पारिदिएको उहाँले बताउनुभयो ।

व्यवसायी भट्टराईले प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भएको र प्रकोपको समयमा जनप्रतिनिधि तथा कतिपय राजनीतिक दलका नेताहरुले फोन नउठाउने तथा गम्भीरता देखाउनुको साटा हाँसेर उपेक्षा गरेकोमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले फेसबुकमा स्टाटस नै लेखेर असन्तुष्टि जनाउनुभएको हो । उहाँ लेख्नुहुन्छ ।

दुखद खवर ।।।।।।प्रकृति सग के लाग्छ , ११ सय रुख पनि बगाएको छ ।
चिसाङ खोलाले सबै सकायो अब फोटोमै सिमित , करिब ११००, रुख ,बिरुवा सबै बगायो , रङगेली १ मा रहेको हाम्रो फामहाउस , आपत को बेला मेयर ले सम्म फोन उठाएनन् , कोही नेता त जानकारी गराउदा , के गर्न सकिन्छ र भन्दै खित्का छोडेर हास्नु भयो । पृथ्वी गोलो छ , हामिले माने नेता नत्र के को नेता ? म हामी कर्म योगी हौं । हार मान्ने वालाछैनम ।

सोमबार, २९ असार, २०७७, रातीको ११:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर