काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालकै अयोध्यामै भएको दावी गर्नुभएको छ । अध्योध्या पर्सा र चितवनको सिमावर्ती क्षेत्र ठोरीमा भएको दावी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोपसमेत लगाउनुभयो ।
भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्रीले सांस्कृतिक हिसाबले नेपाल थिचिएको भन्नुहुन्दै भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने जिकिर पनि गर्नुभयो । उहाँले भारतले नक्कली अयोध्या खडा गरेर विवादित बनाइरहेको पनि बताउनुभयो ।
‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिम पट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डित जी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन्’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गर्नु भएको छ । कुनै सञ्चार सुविधा नभएको त्यो समयमा अहिले भारतले बनाएको अयोध्याबाट राम जनकपुर विवाहका लागि आउन सम्भव नभएको उहाँको दावी थियो ।
प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो सृङ्खलाले निरन्तरता पाउन नसकेको बताउनुभयो ।