विराटनगर । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा गएको पहिरोबाट विस्थापितलाई राहतसहित हेलिकप्टरमा घटनास्थल हिंडेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको टोली तुम्लिङटारमा ल्याण्ड भएको छ ।
खराब मौसमका कारण पहिरोस्थल पुग्न नसकेको बताइएको छ । सो ठाउँमा अबिरल वर्षाको कारण आइतबार बिहान गएको पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका छन् । ५ जना घाइते भएका छन् । पहिरोको जोखिमका कारण सो ठाउँका ८६ घर परिवारका ३ सय ३९ जना विस्थापित भएका छन् ।
उनीहरुको पुनःस्थापनाको तयारी तथा राहतको व्यवस्थापनबारे जानकारी लिन मुख्यमन्त्री राई हेलिकप्टरमार्फत पहिरोस्थल नजिकैको चित्रे भन्ने स्थानमा जान हिंड्नुभएको थियो । सो ठाउँमा पहिरोमा परेकाहरुको उद्धारका क्रममा १ जनाको बेहोस भएर मृत्यु भएको थियो ।
सो स्थानमा जानुअघि संचारकर्मीलाई विराटनगर विमानस्थलमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजी गर्ने र विस्थापितहरुलाई तत्काल राहत दिन कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
‘त्यहाँका बाढीपहिरो पीडितलाई उपर्युक्त स्थानमा सुरक्षित हिसावले सार्ने र राहतको काममा हामीले कुनै कसर बाँकी राखेका छैनौं,’ उहाँले भन्नुभयो, ‘प्रदेशका अन्य क्षेत्रमा पनि जोखिममा परेका सर्वसाधरलाई राहत तथा उद्धारका लागि सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।’
पहिलो पटक प्रदेश सरकारले सो ठाउँमा १५ क्वीन्टल चालम, २ क्वीन्टल दाल, १ सय लिटर तेल, ५० किलो नुन, २० वटा टेन्ट, १० कार्टुन चाउचाउ र १० काटुन विस्कुट तथा म्याटे«स राहतस्वरुप पठाएको हो ।
हेलिकप्टले दुई पटक गरेर उक्त सामान सो क्षेत्रमा पु¥याउने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो । मुख्यमन्त्री राईसहितको टोली घटनास्थल पुग्न नपाएपछि तुम्लिङटारबाटै फर्किने तयारी गरेको छ ।