विपद् व्यवस्थापन गर्न सुरक्षा सर्तकता

प्रदेश सरकार विपद् विरुद्ध तयारी अवस्थामा

विराटनगर । नेपाल नजिकै भारततर्फ मनसुनी रेखा सक्रिय भएपछि केही दिनदेखि नेपालमा भारी वर्षा भइरहेको छ । मध्य र पश्चिम नेपालमा वर्षाले ठूलो धनजनको क्षति गरिसकेको छ भने अब वर्षा पूर्वतर्फ बढ्दै गएको छ । अब आउने केही दिन नेपालको पूर्वी भागमा बाढी पहिरो र डुवान आदिको समस्या बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखले सार्वजनिक गरेको छ ।

प्रदेश नम्बर १ का अधिकांश पहाडी जिल्लाहरु बाढी पहिरोको जोखिममा छन् । तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरी नदी कटान र डुवानको जोखिममा रहनेगरेको छ । सम्भावित प्राकृतिक प्रकोपसँग जुध्न प्रदेश सरकारले पनि आवश्यक तयारी गरेको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमलबहादुर थापा बाढी पहिरो र डुवानजन्य प्राकृतिक प्रकोप आइपरेको खण्डमा तत्काल उद्धार, संरक्षण, राहत र उपचारका लागि सरकार तयारी अवस्थामा रहेको बताउनुहुन्छ । प्रदेश सरकारले बाढी, पहिरो, नदी कटान र डुवानको समस्या पूर्वानुमान गरी आवश्यक पर्ने उद्धार सामग्रीहरु खरिद गरिसकेको प्रवक्ता थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार बाटोमा ढलेका रुख काटेर पन्छाउन कटर मेसिनदेखि अन्य औजारहरु सरकारले खरिद गरेको छ । यसैगरी उद्धारका लागि आवश्यक पर्ने सामान, त्रिपाल, कम्बल आदिको पनि सरकारले जोहो गरिराखेको छ ।

प्रदेश १ मा ताप्लेजुङ, भोजपुर, संखुवासभा लगायतका जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेको र अन्य पहाडी जिल्लाहरु पनि जोखिममै रहने भएकोले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय समितिहरु सक्रिय भइसकेको प्रवक्ता थापाले बताउनुभयो ।

यसै गरी प्रदेश सरकारले विपद् व्यवस्थापन कोषमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ । कतिपय स्थानीय तहरुले पनि बजेट विनियोजन गरेर राखेका छन् । विपद् कोषमा भएको रकम आवश्यक पर्दा तत्काल खर्च गर्न सकिने भएकोले सरकारलाई उद्धार, राहत र उपचारमा तत्काल समस्या नहुने उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारले बाढी पहिरोको सम्भावित जोखिमलाई हेरेर सुरक्षा निकायलाई समेत सतर्क अवस्थामा राखेको जनाएको छ । थापाले भन्नुभयो ‘प्राकृतिक विपद् आइपरेको खण्डमा तत्काल पहल लिन सक्ने गरी प्रदेश सरकार तयारी अवस्थामा छ ।’

आइतबार, २८ असार, २०७७, दिउँसोको १२:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर