इटहरी । सुनसरी प्रहरीले लागुऔषध कारोबारमा संलग्न ठूलो समूहलाई पक्राउ गरेको छ । हरेक दिनजसो प्रहरीले लागुऔषध बरामदसँगै कारोबारमा संलग्नलाई पक्राउ गर्न थालेको छ ।
सुनसरी प्रहरीले जिल्लामा लागुऔषधको कारोवार निर्मुल पार्ने अभियान छेडेको छ । त्यसकालागि उसले लागुऔषधको नेटवर्क पहिल्याउनेतर्फ अनुसन्धानलाई अघि बढाएको छ । लागुऔषध विरुद्ध चालेको स्विप अप्रेसनको क्रममा लागुऔषध कारोबारीको निकै ठुलो नेटवर्कको पहिचान भएको छ ।
भारतमा रही नेपालतर्फ लागुऔषध सप्लाई गर्ने र सुनसरी हुँदै नेपालका विभिन्न शहरसम्म लागुऔषध पुर्याउने कारोबारीलाई प्रहरीले समात्न सफल भएको छ ।लागुऔषध विरुद्धको स्विप अप्रेसनको क्रममा ७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ४ लौकहीका पंकज यादव, कोशी गाउँपालिका ६ श्रीपुरका सुनिल कुमार मुखिया सोही स्थानका सुनिल कुमार यादब ,कोशी गाउँपालिका ६ कै बिरेन्द्र मरवैता यादब, बराहाक्षेत्र १ चतराका राजु शर्मा, वराहाक्षेत्र ९ प्रकाशपुरका खेमप्रसाद लुईटेल र भारत सपौल ग्राम पंचायत बिरपुरका शिबु भनिने राकेश कुमार मण्डल रहेका छन् । कोशी कटान एरियाबाट को १० प ९३३२ नम्बरको मोटरसाईकलमा आएका सुनिलकुमार मुखीयालाई नियन्त्रणमा लिइसँगै थप अनुसन्धान गर्ने क्रममा अन्य ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट ३२६ बोतल डाईलेक्स डिसी, स्पास्मोपोक्सिवन १८७२ क्याप्सुल र अर्को १ थान मोटरसाईकल समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार भारतमा रहेका व्यक्तिले सीमामा ल्याई लागुऔषध भण्डारण गर्ने र नेपाल तर्फ रहेका व्यक्तिले सुनसरी सहित मोरङ, झापा, सप्तरी, उदयपुर लगायतका क्षेत्रमा सप्लाई गर्ने गरेको देखिएको छ ।
यसैबीच श्रीमती र ससुराली मिलेर हत्या गरिएका सुनसरीको देवानगंज गाउँपालिकाका २५ वर्षिय मिथुन उरावको हत्यारा समेतलाई प्रहरीले सार्वजनिक गरेको छ । ज्वाईलाई मदिरा सेवन गराई सासुससुरा र मृतककी श्रीमतीसहितको योजनामा मिथुनको हत्या गरी खाल्टो खनेर पुरिएको प्रहरीले निष्कर्श निकालेको छ ।