आज दिउँसोदेखि पूर्वी नेपालमा वर्षा झन् बढ्ने

विराटनगर । प्रदेश १ र ३ लगायत पूर्वी नेपालमा आजदेखि तीन दिनसम्म भारी वर्षा हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजबाट पश्चिम पहाडी भेगमा वर्षा कम हुँदै जाने तर पूर्वी पहाडी र तराईमा भने भारी वर्षा हुने अनुमान गरेको छ ।

केही दिनदेखि देशभर जारी वर्षा भने केही दिन कायम नै रहने छ । वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार शनिबार बिहानैदेखि देशभर वर्षा भइरहेकोले बाढी पहिरोको जोखिम उच्च रहेको छ । उहाँले सबैलाई सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

शनिबार बिहान प्रदेश १ को इलाम, विराटनगर, धनकुटा लगायतका ठाउँमा वर्षा भइरहेको छ भने प्रदेश २ भरी वर्षा जारी छ । प्रदेश ३ को मकवानपुर, चितवन लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । पश्चिममा दाङ, कञ्चनपुर, बैतडी डडेल्धुरा, आदी ठाउँमा पानी परिरहेको छ ।
पूर्वी क्षेत्रमा बिहानको तुलनामा वर्षा अझै बढ्ने विभागको अनुमान छ । गण्डकी प्रदेशमा भने वर्षा कम हुने बताइएको छ ।

महाशाखाका अनुसार राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमस वर्षाको सम्भावना रहेको छ ।आइतबार साँझदेखि गण्डकीदेखि पूर्वका क्षेत्रमा वर्षा अझ बढ्ने सम्भावना रहेको बताइएको छ । भारतीय क्षेत्रमा बनेको मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले केही दिनयता वर्षा बढेको हो।

शनिबार, २७ असार, २०७७, बिहानको ०९:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर