काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो।
लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि भएको मतदानमा सहभागी नभई उनले बहिष्कार गरेकी थिइन्।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दावी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । सो प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गर्नुभएको थियो ।
समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा त्यसबारे कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए। यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।
पार्टी निर्देशन र ह्वीप नमानेको कारण पार्टी र संसदबाट निष्कासन गर्न सिफारिस भएको हो । अब पार्टी पदाधिकारी बैठकले यसलाई अनुमोदन गरेपछि निर्वाचन आयोगमा उनको संसद पद खारेजीको पत्र जानेछ ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।