विराटनगर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या ३४ पुगेको मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको छ । असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार गोरखा अस्पतालमा मृत्यु भएको हो ।
त्यसैगरी रुपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुषको समेत कोरोनाकै कारण मृत्यु भएको छ । उनी असार १४ गते काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते मृत्यु भएको हो ।
उनमा कोरोना पुष्टि भने असार १८ गते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो । उनी क्षयरोग पीडित थिए ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबार अछामका ३७ र सप्तरीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६ जनाको रिपोर्ट पनि पोजेटिभ आाएको छ ।
बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ जना तथा दैलेख, इलाम, स्याङजा र तनहुँका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।


