जथाभावी प्रदर्शन गर्नेलाई नेकपाले कारबाही गर्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला स्वतन्त्र युवा समूहको नाममा पार्टी नीति विपरित अध्यक्षको पक्ष र विपक्षमा प्रदर्शन गर्ने नेकपाका कार्यकर्ताहरुलाई कारवाहीको माग भएको छ ।

पार्टीको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि केही दिनदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई नहटाउन चेतावनी दिँदै सडकमा प्रदर्शन भइरहेको छ । त्यस्तो प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष प्रचण्ड लगायत वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल आदिलाई अमर्यादित भाषा प्रयोग गरेर बोल्ने र प्लेकार्ड प्रदर्शन गर्ने काम भएको छ । त्यस्तो कार्यमा पार्टीकै जिम्मेवार सदस्यहरुको सहभागीता रहेको दाबीसहित युवा र विद्यार्थीहरुको एउटा समूहले शनिबार नेकपा मोरङका पार्टी नेतृत्वसमक्ष कारवाहीको माग गरेको थियो । पार्टी नेतृत्वले सबैले पार्टी अनुशासन मान्नुपर्ने र पार्टी सदस्य र जिम्मेवारीमा रहेको व्यक्तिले स्वतन्त्रको नाममा कुनै गतिविधि गर्ने छुट नपाउने जवाफ दिएपछि युवा विद्यार्थीहरुले पार्टी कार्यालय भित्रै प्लेकार्डसहित धर्नामा बसेका थिए ।

शुक्रबारको प्रदर्शनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेतालाई गाली गलौज गरिएको थियो । अमर्यादित गालिगलौजको विरुद्धमा रहेका युवाहरुले शनिबार मोरङका पार्टी अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती, कार्यालय सदस्य बाबुराम कार्की, रामलाल साह, विराटनगर नगरसमितिका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीलाई त्यस्ता प्रदर्शन रोक्न दबाब दिए ।

पार्टी नेताहरुलाई दबाब दिँदै अनेरास्ववियूका नेता ओसिम आलम, युवा संघका नेता इश्वरी आचार्य, विद्यार्थी नेता ताजिम अन्सारीलगायतको नेतृत्वमा ५० भन्दा बढी युवाहरु पार्टी कार्यालयमा भेला भएका थिए ।
विद्यार्थी नेता ओसिम आलमले पार्टीका शीर्ष नेताहरुविरुद्ध गाली गलौज गर्ने र भारतीय दलालको रुपमा चित्रित गर्दै सडकमा आउने क्रमलाई नरोक्ने हो भने आफूहरु पनि केपी ओलीको राजिनामा माग्दै सडकमा आउने चेतावनी दिनुभयो । ‘स्थायी समितिको बैठकमा छलफल भइरहेको बेला सडकमा शीर्ष नेताहरुको बद्नाम गर्नेगरी नाराबाजी, जुलुस गर्नेलाई कारबाही हुनुपर्छ,’ आलमले भन्नुभयो, ‘पार्टी फुटाउन नेताहरुलाई उत्तेजित पार्ने र व्यक्तिको पछि लागेर विधि र पद्धतीलाई मिच्ने गरी कुनै गतिविधि हुनुहुँदैन भन्ने हाम्रो माग हो ।’

‘समृद्ध नेपाल, सुखी नेपालीको महान अभियानमा चिसो पानी खन्याउने काम जो कसैबाट हुन्छ भने त्यस्ताको भण्डाफोर गर्छौं,’ विद्यार्थी नेता अन्सारीले भन्नुभयो, ‘पार्टी एकताका लागि हाम्रो दवाव निरन्तर रहिरहन्छ ।’
यस्तै युवा संघका नेता इश्वरी आचार्यले प्रचण्ड या माधव नेपाल लगायतका नेतालाई बद्नाम गर्नेगरी भइरहेको गतिविधि नरोकिए आफूहरु पनि व्यानर लिएर सडकमा आउने बताउनु भयो । ‘हामी पनि आन्दोलनबाट आएका मानिस हौं, हामी पनि दुई÷चारसय जना मानिस लिएर सडकमा आउन सक्छौं, के अब सडकबाटै फैसला गर्ने हो त ?’, आचार्यले भन्नुभयो, ‘हामी विधिको पक्षमा छौं, दुवै पार्टी अध्यक्षको पक्षमा छौं, पार्टीको विधि विधान अनुसार गतिविधि हुनुपर्छ, हुलहुज्जत गर्ने र अनुशासनहीन गतिविधि गर्नेहरुलाई कारबाही हुन्छ कि हुँदैन ? ।’

युवा तथा विद्यार्थी नेताहरुको मन्तव्य पछि मोरङका नेकपा अध्यक्ष ऋषिकेश पोखरेलले स्वतन्त्रको नाममा सडकमा आएर नेताका विरुद्धमा तथानाम गाली गलौज गर्नेहरु पार्टी सदस्य हुन नसक्ने बताउनु भयो । ‘स्वतन्त्रको नाममा सडकमा आन्दोलन गर्ने हो भने त्यो पार्टी सदस्य नै रहेन नि,’ उहाँले भन्नुभयो, ‘अहिले युवाहरुले पार्टी एकताको पक्षमा र नेताहरुलाई मिल्नुपर्ने दबाब दिनुपर्छ, कोही कसैले भनेको आधारमा सडकमा आउनु राम्रो होइन ।’ पोखरेलले पार्टी फुटको इतिहास देखिएको भन्दै फुटाउनेलाई कुनै पनि हालतमा फाइदा नहुने भएकोले विवादलाई हल गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै नेकपा मोरङका सचिव गणेश उप्रेतीले स्वतन्त्रको नाममा आन्दोलन गर्नेहरुको नाम लिष्ट लिएर आए कारबाही गरिने प्रतिबद्धता जनाउनु भयो । नेताहरुको प्रतिबद्धता पछि युवा तथा विद्यार्थीहरुले पार्टी कार्यालयमै केहीबेर धर्ना दिएका थिए । उनीहरुले आजलाई र भोलीलाई, व्यक्तिलाई होइन विधिलाई, नेपाल कम्युनिष्ट पार्टीको नीतिलाई, आइएमविथ नेकपाजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

जिल्ला पार्टीका अध्यक्ष, सचिव लगायत पुरै कार्यालय टिम पार्टी स्थायी समिति बैठकमा व्यक्त भनाईहरु मिडियामा सुनेका भरमा पक्षविपक्षमा विभाजित हुने र प्रदर्शन गर्ने कार्यको विपक्षमा रहेको र सबैलाई यस्ता कार्यमा संलगन नहुन आग्रह गरेको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेर भन्नुभएको छ ‘कमरेड मित्रहरू तेतिमात्र लेखौं,बोलौं,गरौं,भनौं र भडॉस खोलौं जसले भोलि एक आपसमा भेटघाट हुँदा लाज नहोस र कानुनि प्रमाण नवनोस।’

शनिबार, २० असार, २०७७, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर