अधुरो कल्भटले ज्यान लियो

विराटनगर । विराटनगर रानीस्थित वडा नं. १५ र १६ को सीमानामा निमार्णाधिन अवस्थामा छोडिएको कल्भटका कारण सवारी दुर्घटनामा परि १ जनाको ज्यान गएको छ ।

विगत १ महिनादेखि अधुरो छोडिएको कल्भटको निमार्ण कार्य अझै पुरा नहुँदा बिहिवार राती करिब साढे ११ बजे स्कुटर दुर्घटना परि विराटनगर–१६ स्थित रानीका २३ बर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भई कल्भटमा पर्दा गम्भीर घाईते भएका बस्नेतको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

निर्माण कम्पनी भुमि कन्स्ट्रक्सनले सडक र कल्भट निर्माणमा चरम लापरबाही र ढिलासुस्ती गरेको कारणले प्रायः यस क्षेत्रमा दुर्घटना हुने गरेको स्थानीयहरुले बताएका छन । निर्माण कम्पनीले बनाउँदै आएका सडक तथा कल्भटहरूका लागी ड्राईभर्सन र रातीको समयमा सडक बत्ती नराख्दा यस क्षेत्रमा प्रायः दुर्घटना हुने गरेको विराटनगर–१६ रानीकी बिमला राजबाहकको भनाई छ । सडकहरुमा बत्तीको व्यवस्थापन गर्न स्थानीयले आग्रह गर्दा पनि वडाअध्यक्षहरूले एकले अर्कालाई हानाथाप गर्ने गरेको उहाँको गुनासो छ ।

निर्माण कार्य ठप्प भएको कल्भटमा हाल ईट्टाको गाह्रो उठाउने काम मात्र भएको छ । पानी जमेर उक्त कल्भट तालजस्तै बनिसकेको छ । यहाँका स्थानियले जनप्रतिनिधि र निर्माण कम्पनीलाई कल्भट निर्माण कार्य द्रुतगतिमा अघि बढाउन आग्रह गर्दा पनि कुनै सुनवाई नहुने गरेको विराटनगर–१६ का मनोज कुमार शाहले बताउनुभयो ।

निमार्ण कम्पनीले सडक र कल्भट निर्माणमा सावधानी नपनाई चरम लापरबाही गरेको भन्दै स्थानीयले कम्पनीमाथि कडा कारवाहीको माग गरेका छन । विराटनगर–१५ का वडाअध्यक्ष असलम आलमले निर्माण कम्पनीलाई निर्माण कार्य चाँडो गरि समयमै काम सम्पन्न गर्न आग्रह गर्दा पनि नसुनेझै गर्ने गरेको बताउनुभयो ।

सघन शहरी विकास परियोजना अन्तर्गत विराटनगरको रोडशेष चौकदेखि–रानीसम्मको करिब ५ किलोमिटर सडक निर्माणको ठेक्का भुमि कन्स्ट्रक्सनले पाएको छ । सो सडकको निर्माणको सम्झौता २०७४ जेठ २८ गते १७ करोड ९३ लाखमा भएको हो । सम्झौता भएको म्याद गत जेठ २२ गते नै सकिँदा पनि हालसम्म रोडशेष–रानी सडकखण्ड साढे ३ किलोमिटर मात्र पिच भएको छ ।

विराटनगर १५ र १६ को सिमाना रहेको कल्भट निमार्णको कार्य स्थानीयको अवरोधको कारण रोकिएको भुमि कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर प्रमोद शाहले बताउनुभयो । स्थानीयले सडकमुनि बिच्छयाईएको खानेपानीको पाइप र फाईबर केवल झिक्न निर्माण कम्पनीलाई दबाव दिँदा निमार्ण कार्यमा अवरोद्य पुगेको उहाँको भनाई छ ।

विराटनगरस्थित रानीमा निमार्णाधिन अवस्थामा छोडिएको उक्त कल्भटमा परि केही दिनअघि मात्रै १ जनाको खुट्टामा चोट लागी उनी गम्भीर घाईते भएका थिए ।

शुक्रबार, १९ असार, २०७७, साँझको ०६:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर