ओलीबाट पार्टी र संसदीय मान्यताको फेरि अवज्ञा

संसद अन्त्य नगर्ने प्रचण्डसँगको सहमति तोडियो/संसद अन्त्य गर्दा सभामुखसँग परामर्श गर्ने परम्परा उल्लंघन

काठमाडौं । बुधबार बसेर स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी स्थायी समितिको बैठकमा सहभागी नभई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले हठात् रुपमा संसद अधिवेशन अन्त्य गरिदिएका छधन् ।

विहीबार बिहान ११ बजे प्रधानमन्त्री निवासमै बस्ने तय भएको बैठकमा नआई प्रधानमन्त्रीले १२ बजे मन्त्रिपरिषद बैठक राखेर संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेका हुन् ।

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने तयारी गरेको सूचनापछि पार्टी अध्यक्ष प्रचण्डले चासो राख्दै पार्टीको बैठक चलिरहेको बेला अधिवेशनज अन्त्य नगर्न सुझाब दिएका थिए । पार्टीमा सल्लाह गरेर मात्र निर्णय गर्न प्रचण्डले आग्रह गरेपछि क्याबिनेट बैठक स्थगित गर्ने बताएका ओलीले हतारहतार बैठक राखेर अधिवेशन अन्त्यको निर्णय गरेको खुलेको छ ।

कतिपय मन्त्रीहरु बैठकमा आउन नभ्याउँदै हतार–हतार क्याबिनेट राखेर संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । मन्त्रिपरिषद बैठकमा २० मन्त्रीमध्ये १३ जनामात्रै थिए। गृहमन्त्री रामबहादुर थापा, बन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत कतिपय मन्त्री पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकियो।

यति द्रुत गतिमा सकिएको बैठकले संसद अधिवेशन आजै ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपति  समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन् । पार्टीलाई वेवास्ता गर्दै स्वेच्छाचारी बनेको भन्दै आलोचना भइरहेको बेला पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रस्ताव ओलीले फेरि पनि उल्लंघन गरे ।

बुधबार बेलुका ललितपुरको झम्सीखेलमा सम्पन्न ३० नेताहरुको भेलाले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने प्रतिवद्धता जनाउनुपर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले फेरि पार्टी बैठकमा सहभागी नभई पार्टी नेताहरुको आग्रहलाई लत्याए ।

मन्त्रिपरिषदको बैठक बस्नुपूर्व प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपतिसँग कुरा गरेपछि क्याबिनेट बैठक राखेर संसद बैठक स्थगनको सिफारिस शीतलनिवास पठाइएको थियो । राष्ट्रपतिबाट त्यसलाई हतार–हतार सदर गरिएको थियो ।

संसद स्थगितको निर्णयपछि स्थायी समिति बैठकमा सहभागी हुन आग्रह गर्दा पनि प्रधानमन्त्री ओलीले नमानेको नेताहरुले बताएका छन् । त्यसपछि शुक्रबार प्रचण्ड र अरु नेताहरुको टीमले प्रधानमन्त्रीसँग थप छलफल गर्ने र शनिबार बिहान ११ बजे पुनः बस्ने गरी स्थायी कमिटीको बैठक स्थगन भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीलाई हटेर गर्दै संसदीय मूल्यलाई पनि लत्याएको भन्दै आलोचना हुन थालेको छ । संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा ओलीले मिचेका छन् ।

बिहिबार, १८ असार, २०७७, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर