उत्पादन बढाउने योजनालाई मल अभाबले चुनौति

विराटनगर । सरकारले धान दिवस भव्यताका साथ मनाउने तयारी गरिरहेको बेला किसान भने रसायनिक नपाएर समस्यामा परेका छन् । प्रदेश १ मा अहिले युरिया मलको अभाव छ । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले किसानहरुलाई वर्षेधान खेतीको पहिलो चरणमा युरिया मल उपलव्ध गराउनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

‘तराईमा धानखेती र पहाडमा मकैखेती गर्ने किसानले युरिया मल मागिरहेका छन्,’ राज्यमन्त्री रानाले भन्नुभयो ‘तर दुःखका साथ हामीले भन्नुपर्छ हामीसँग युरिया मल छैन ।’ प्रदेश १ मा मल आपुर्ति गर्दै आएका कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेशनले चैते धानकै लागि मल आपुर्ति गर्न सकेनन् । हिउँदे मकैखेती गरेका किसानहरुले पनि प्रयाप्त मल पाउन नसकेको गुनासो गरेका छन् ।

युरिया अभावकै कारण पूर्वी तराईमा मकै उत्पादनमा गिरावट आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रानाले भारतसँगको सिमाना बन्द भएका कारणले पनि नेपालमा युरिया मल अभाव भएको बताउनुभयो । ‘नेपालमा मल आपुर्ति गर्ने संस्थाहरुबाहेक अन्यत्रबाट पनि आउने गरेको रहेछ,’ मन्त्री रानाले भन्नुभयो ‘भारतसँगको सिमाना बन्द भएका कारण आन्तरिक माग अत्याधिक हुनपुग्यो ।’ अघिल्लो वर्षको तुलनामा तीनगुणा बढी मल आपुर्ति गर्दा पनि माग धान्न नसकेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले कृषि उत्पादन बढाउन भन्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । तर, मल अभावले मकैको उत्पादन घटेको छ भने चैते धानको उत्पादन पनि घट्ने अनुमान गरिएको छ । समयमा युरिया नआएको खण्डमा वर्षे धानको उत्पादनमा पनि भारी गिरावट आएर उत्पादन बढाउने लक्ष्य नै असफल हुने खतरा छ ।

अहिले पहाडमा बाहेक तराईमा मकैखेती, उखु, चैते धानको चरण सकिएको छ । अब धान रोपाई गरेको १५ दिनभित्रै किसानलाई युरिया मलको आवश्यकता पर्छ । तर साउन १५ गते अगाडि युरिया मल आइपुग्ने सम्भावना नरहेको मन्त्री रानाले प्रदेशसभा बैठकमै जानकारी दिनुभएको छ । उहाँले पोटास र डिएपी करिव ४५० मेट्रिक टन आयात भएकोमा करिव आधा मौज्दात रहेकोले प्रारम्भिक धानखेतीका लागि यि मलहरु भने अभाव नहुने बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनले खरिद गरेको ५ हजार ५०० मेट्रिक टन युरिया अहिले भारतको काङ्ला बन्दरगाहमा आइपुगेको छ । त्यो मल नेपाल आउन करिब ५ साता लाग्ने बताइएको छ । त्यसपछि मात्र केही मात्रामा युरियाको आपुर्ति सुरु हुनेछ ।

त्यस्तै कृषि सामग्री संस्थाले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहमा आइपुगेको मन्त्री रानाले जानकारी दिनुभएको छ । उहाँले ५० हजार टनमध्ये प्रदेश १ मा १८ हजार टन प्राप्त हुने बताउनुभयो । तर, यो मल साउन १५ पछि मात्र प्राप्त हुने अनुमान सरकारको छ ।

आइतबार, १४ असार, २०७७, बिहानको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर