सिंघीयाको बाढीले २ सय परिवार जोखिममा

विराटनगर । दुई दिनदेखि परेको वर्षाले सिंघीया खोलाको बहाव बढेपछि विराटनगरसँग सीमा जोडिएको मोरङको कटहरी गाउँपालिका र विराटनगर महानगरपालिकाको केही वडाको बस्ती जोखिममा परेको छ ।  विराटनगर १ र २ नम्बर वडा तथा कटहरी १ टाइगर बस्तिसहितको करिब दुई सय घरको सिंगो बस्ती जोखिममा परेको हो ।

विराटनगर १ को गंगाचौक, २ को सुकुम्बासी बस्ती र कटहरी गाउँपालिका १ टाइगर टोलको सिंगो बस्ती बाढीले जोखिममा रहेको स्थानीय बताउँछन् । ‘नदिबाट जोगिन तटबन्ध पनि बनाइएको थियो । तर, यही बेला बाढी तटबन्ध नाघेर घरखेतमा पस्न थालेको छ,’ कटहरी १ टाइगर टोलकी मनसरिया पासवानले बताउनुभयो । उहाँका अनुसार गत वर्ष पनि ठूलो बाढी आएकोले अहिले पनि दुई दिनदेखि परेको वर्षाले सिंघीया खोलाको बहाब बढेको कारणले स्थानीय समस्यामा परेको छन् ।

‘कतिबेला बाढी आउला, घर बगाउछ भनेर रातभरी नसुति जागरम बस्ने गरेका छौं,’ उहाँले भन्नुभयो, ‘पानी पर्ने बितिक्कै खोलाको पानी बढ्ने भएकोले त्यसैको डरले सुत्न सकेका छैनौं ।’ कटहरी १ टाइगर बस्तीमा रहेका एक सय घरधुरी बढी जोखिममा रहेको स्थानीयले बताएका छन् । टाइगर बस्तीका एक दर्जन बढी घरभित्र सिंघीया खोलाको पानीको बहाब बढेर पस्न थालेपछि आफन्तको घर र खाली चौरमा टेण्ड टाँगेर बस्न थालेका छन् ।

घरभित्र पानी पस्न थालेपछि ५ जनाको परिवार लत्ताकपडा र खाद्यान्नको पोको बनाएर नजिकको खाली चौरमा बस्न थालेको कटहरी १ डाइगर बस्तीका सन्तोष सरदारले बताउनुभयो । ‘दुई दिनदेखि परेको पानीको बहाब बढेपछि सिंघीया खोला घरभित्र पस्यो’ खाद्यन्नको सामाग्रीहरू सार्दै गरेका सन्तोषले भन्नुभयोे, ‘अब कति दिन खाली चौरमा रात काटनुपर्ने हो ? बाढीले बस्ती पनि कटान गर्न सुरु गरेको छ ।’

सिंघीया खोलाबाट बालुवा, टुङ्गा र गिटी निकाल्ने गरिएकाले पनि बाढीले कुना खोल्दै लगेको हो । सडक निर्माण, निजी आवास निर्माणलगायत निर्माण कार्य अघि बढाउँदा अवैध रूपमा नदीजन्य पदार्थ झिक्ने गरिएको स्थानीयले बताउनुभयो । ‘ठूलो वर्षा सुरु हुनेबित्तिकै सिंघीया खोला सुसाएर आउँछ । झनै साँझपख गड्गडाहटले रातभर सुत्नसक्ने अवस्था हुन्न’ स्थानीय सन्तोषले भन्नुभयो, ‘खोला कटान गर्दै नजिकै पुगिसकेको छ । उठिबास हुनेभयो ।’

वर्षौंअघि पनि सिंघीया खोलाको बाढी खेतमा पसेर पुरै घरखेत बगाएको स्थानीय बताउँछन् । बर्षेनि जमिन कटान हुँदै गएपछि खाद्यान्न उत्पादन पनि घट्दै गएको स्थानीयको भनाई छ । नदीले कटान बढाउँदै गएपनि हालसम्म कतैबाट पनि तटबन्ध निर्माण गरी बस्ती जोगाउन सहयोग नभएको गाउँलेहरू बताउँछन् ।

नदी नियन्त्रणको पहल नहुँदासम्म बस्ती सुरक्षित नहुने स्थानीय सत्यम नेपालीले बताउनुभयो । गाउँपालिका र महानगरपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतैबाट पनि पीडाको सुनुवाइ नभएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले नदी छेउका स्थानीयलाई सतर्क रहन आग्रह गरेको बताउनुभयो ।

शनिबार सिंघीया खोलाको बहाब बढेपछि विराटनगर १ र कटहरी १ टाइगर बस्तीको जोखिममा रहेको एक दर्जन बढी घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

आइतबार, १४ असार, २०७७, बिहानको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर