नेपालमा पनि आयो सलह कीरा

काठमाडौं । नेपालमा पनि सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान सलह कीराका समूह देखिएको हो।

बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले खबर गरेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले बताउनुभयो ।

सलहका चार वटा झुण्ड प्रवेश गरेको पाइएको छ । सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराइएको छ । बाराको जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएको छ।

यसअघि नेपालमा सलह प्रवेश गर्नसक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो। अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो।

सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ। यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्‍याउँछ। यसले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ।

शनिबार, १३ असार, २०७७, दिउँसोको ०२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर