विराटनगर। पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको कोरोना परीक्षण गर्दा शुक्रबार पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।
मृतकको पहिचान गर्ने र परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५–२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२–१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६–६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४–४, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३–३, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २–२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एक–एक जनामा कोरोना देखिएको छ ।
योससँगै कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । २ हजार ६९८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

