लोड हुँदैछ...

मेनु

भोजपुरका सांसद सुदन किराँती क्वारेन्टिनमा

भोजपुरका सांसद सुदन किराँती क्वारेन्टिनमा

भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचिन सांसद सुदन किराँती गृहजिल्ला आएसँगै क्वारेन्टिनमा बस्नुभएको छ ।

काठमाडौँबाट भोजपुर आएपछि किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नुभएको हो ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेकोले आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले जानकारी दिनुभयो। क्वारेन्टिनमा बसेर त्यहाँ समस्याको विषयमा बुझेर समाधानको पनि पहल गरिरहेको उहाँको भनाइ छ ।

मानिसमा पहुँचको आधारमा सरकारले जारी गरेको निर्णय पालना नगर्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको अनिवार्य रुपमा पालन गर्नुपर्नेसमेत किराँतीले जोड दिनुभयो । नियम सबैको लागि बराबर हुनुपर्ने भन्दै उहाँले जनताको समस्यालाई नजिकबाट नियाल्दै क्वारेन्टिनमा बसेर सरकारको नियम पालना गरिरहेको बताउनुभयो ।

सांसद किराँतीले काठमाडौँमा परीक्षण गरी सङ्क्रमणमुक्त भएको प्रमाणसहित गृहजिल्ला आएपनि क्वारेन्टिनमा बसेपछि सर्वसाधारणले सकारात्मक रुपमा लिएका छन् । पहुँच नभएका निमुखा मानिस मात्र क्वारेन्टिनमा बस्नुपर्ने जनगुनासो स्थानीयवासीबाट आएपछि त्यसलाई नजिकबाट नियाल्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

सांसद किराती क्वारेन्टिनमा बस्ने क्रममा प्रतीक्षालय, शौचालय निर्माणसँगै क्वारेन्टिन आसपासमा सूचनामूलक सामग्रीसमेत टाँस गरिएको छ ।
सांसद आफैं क्वारेन्टिनमा बसेपछि अहिले जनतामा पनि सकारात्मक धारणाको विकास भएको छ ।

सरकारको नियमलाई पालना गर्दै कोरोनाको विषयमा सजग रहने खालका सन्देश प्रवाह गर्नसके स्थानीयवासीमा भएको कोरोना त्रास कम हुने र जिल्लामा कोरोना नफैलने किरातीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।