विराटनगर । प्रदेश १ को चार जिल्लाको सीमा नाकाहरूबाट लकडाउनको समयमा २८ हजार बढीले सीमा वारपार गरेका छन् ।
लकडाउनमा बन्द रहेको सीमालाई खुकुले बनाएर नेपाल र भारत दुबै देशका नागरिकलाई आफ्नो देश जान सहजीकरण गरिएपछिको समयमा २८ हजार ९ सय ७५ जनाले सीमाबाट वारपार गरेका हुन् ।
यो अबधिमा नेपालबाट १८ हजार ६ सय ९९ जना भारतीय नागरिक गएका छन् भने भारतबाट १० हजार २ सय ७६ जना नेपाली आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार जेठ १४ देखि ३२ गतेसम्म सबैभन्दा धेरै झापाको काँकडभिट्टा नाकाबाट आवतजावत भएको छ ।
काँकडभिट्टा नाकाबाट १५ हजार ७ सय १२ जना भारतीय बाहिरिएका छन् । झापापछि मोरङको विराटनगरको जोगवनी नाकाबाट आवतजावत गर्ने धेरै छन् । जोगवनी नाकाबाट २ हजार ९ सय ८५ जना र इलामको पशुपति नगरबाट २ जना भारत गएका छन् ।
यस्तै झापाको काँकडभिट्टा नाकाबाट ६ हजार २ सय ६५ जना नेपाल आएका छन् । यस्तै जोगवनी नाकाबाट २ हजार ६ सय ५८, सुनसरीको भान्टावरी नाकाबाट १ हजार ३१ र इलामको पशुपति नगरबाट ३ हजार २ सय जना नेपाल प्रवेश गरेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश १ सरकार र स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा सीमासम्म आएका नेपालीलाई उद्धार गरी नेपाल ल्याएर उनीहरुको घर भएको स्थानीय तहमा पठाउने गरिएको छ । यस्तै नेपालमा अलपत्र परेका र देश फर्कन चाहने भारतीयलाई पनि भारतका सुरक्षा निकाय तथा प्रशासनसँगको समन्वयमा पठाउने गरिएको हो ।
भारतका विभिन्न ठाउँबाट जोगबनी सीमासम्म आएका नेपालीहरूलाई नेपाल प्रहरीले समन्वय गरी नेपाल प्रवेश गराएको छ । नेपालतर्फ ल्याइने मानिसहरूलाई होल्डिङ सेन्टरमा राखी सम्बन्धित पालिकातर्फ पठाइने गरिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।