दुर्घटनामा तीन बालिकाको मृत्यु

विराटनगर । प्रदेश १ मा भएका छुट्टाछुट्टै घटनामा तीन जना बालिकाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार एकजनाको पोखरीमा डुबेर तथा दुईजनाको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।

सुनसरीको देवानगञ्ज ७ की ५ वर्षीया लक्ष्मीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा घरनजिकै रहेको पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, उदयपुरको उदयपुरगढी ६ की ९ वर्षीया विविशा पाण्डेको पनि ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । स १ त ५१०७ नम्बर ट्याक्टर पल्टँदा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक बालिका ट्याक्टर चालककै छोरी हुन् ।

यसैगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ की १४ वर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ । को २ त ८७१४ नम्बर ट्याक्टर नियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खस्दा त्यसमा सवार उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा रहेका अरु पाँचजना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगर ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

चालक भोजपुर, आमचोकका मानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार, ३० जेठ, २०७७, दिउँसोको ०४:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर