काठमाडौं । बुधबार बिहान मृत्यु भएका अर्घखाँचीको मालारानी–४ खनका ५९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
भारतबाट १५ दिनअघि आएपछि क्वारेन्टाइन बसेका बेला मंगलबार विहान ज्वरो आएपछि अर्घाखाँची अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएकोमा बुधबार बिहान निको भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो ।
अस्पतालबाट घर आउँदै गर्दा शीतगंगाको जंगलमा बाटोमै उनको मृत्यु भएको थियो । मृत्युपछि प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षणका लागि पठाइएको उनको स्वाब गायब भएकोले दाहसंस्कार रोकेर बुधबार साँझ पुनः स्वाब संकलन गरिएको थियो ।
मृतकको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापाले पुष्टि गर्नुभयो । आफन्तले उनको शवलाई चौरीमा राखेका छन् । कोरोना पुष्टि भएपछि मापदण्ड अनुसार शव ब्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

