हिरासतभित्रको संसार

विराटनगर/विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङ्गले विभिन्न अपराधमा पक्राउ गरेका आरोपीहरुका लागी मानवअधिकार मैत्री नमुना हिरासत कक्ष निमार्ण गरेको छ ।

मोरङ्ग प्रहरीले आरोपीहरुलाई राख्न अन्तराष्ट्रिय मापदण्ड अनुरुपको नमुना हिरासत कक्ष निमार्ण गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ्गमा ३ पुरुष, १ महिला र १ बाल निगरानी गरि कुल ५ वटा हिरासत कक्षहरु छन । सबै हिरासत कक्षहरुको भुँईमा काठमाथि फम र निलो रङको कार्पेट बिछयार्ईएको छ । यसका साथै महिला र पुरूषको हिरासत कक्ष बाहिरको भित्तामा ३ वटा एल.ई.डी टिभी जडान गरिएको छ । थुनुवाहरुका लागी गर्मी छल्न हिरासत कक्षै पिच्छे बाहिर स्टेन पङ्खा र विभिन्न सामाग्री राख्ने लकर समेत राखिएका छन ।

मोरङ प्रहरीको हिरासत कक्षको क्षमता ८० जनाको हो । हाल लकडाउनले गर्दा विभिन्न अपराधमा पक्राउ गरेका मात्र १० जना मोरङ्ग प्रहरीको हिरासतमा छन । मोरङ्ग प्रहरीले दिएको जानकारी अनुसार बिहीबारसम्म लागूऔषध मुद्दामा २, कर्तव्य ज्यानमा मुद्दामा ३, जबरजस्ती करणीमा २ र सवारी ज्यान मुद्दामा १ जना प्रतिवादी हिरासतमा छन ।

हिरासतमा रहेका प्रतिवादीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार सेवा सुविधा दिएर राखिएको मोरङ्ग प्रहरीका एस.पी विश्व अधिकारीले बताउनुभयो । उहाँले अदालतमा म्याद थप गरेपछि कानुनले दिएको अधिकारसम्म अनुसन्धान गर्न हिरासतमा प्रतिवादीलाई राखिने गरेको जानकारी दिनुभयो ।

मोरङ्ग प्रहरीले ५ वटै हिरासत कक्षहरुलाई मानवअधिकार मैत्री र सुविद्यासम्पन्न बनाउने प्रयास गरेको छ । चिसो लाग्न नदिन हिरासत कक्षको भुँईमा काठको फ्ल्याक माथी निलो रङ्गको फ्लोरिङ कार्पेट बिच्छयाईएको छ । हिरासतको बसाई सजिलो बनाउन केही दिन अगाडी मात्रै ३ वटा टिभी पनि जडान गरिएको एसपी अधिकारीले जिकिर गर्नुभयो । उहाँले आउँदो दिनहरुमा २ वटा टिभी थप गरि सबै हिरासत कक्षमा पु¥याउने लक्ष्य रहेको जिकिर गर्नुभयो ।

त्यस्तै मोरङ्ग प्रहरीले विभिन्न अपराधमा पक्राउ परेर अनुसन्धानका लागी हिरासतमा रहेकाहरूलाई मोटिभेशन समेत प्रदान गर्दै आएको छ । मानसिक रूपमा विक्षिप्त नहोस भनेर उनीहरुलाई मोटिभेशन दिने गरिएको एसपी अधिकारीको भनाई छ ।

मोरङ्ग प्रहरीले निमार्ण गरेको हिरासत कक्ष प्रदेश नं. १ कै नमुना हिरासत कक्ष बन्न पुगेको छ । यसलाई थप सुविद्या सम्पन्न र व्यवस्थित बनाउने मोरङ्ग प्रहरीको लक्ष्य रहेको छ ।

बिहिबार, २९ जेठ, २०७७, साँझको ०७:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर