विराटनगर । बिहीबार नेपालमा थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।
बिहीबार विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको छ । यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ।
यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ। यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताउनुभयो ।
सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ।