पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोनाबाट संक्रमित व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखिएको थियो ।

संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी रहेको बताइएको छ ।

मिर्गौला रोगबाट पीडित उनी ६ महिना अघिमात्रै उपचारका लागि भारतको मुम्बई गएर यही जेठ २१ मा नेपाल फर्किएका थिए । विरामी अवस्थामा रहेका उनको उपचार गर्ने क्रममा आइतबार राति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशभरि हालसम्म ११४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४ सय ६७ जना निको भएका छन् ।