काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी वरियता विवादबीच निर्वाचन आयोगमा दर्ता भएको छ।
पार्टी दर्ताका लागि निवेदन दिएको ४५ दिन पुगिसकेकाले आइतबार नै पार्टी दर्ता गर्नुपर्ने बाध्यता भएपनि बरियता विवाद अन्तिमसम्म मिल्न सकेको थिएन ।
पार्टी कार्यालयमा डा. बाबुराम भट्टराई पहिलो बरियतासहित संघीय परिषद् अध्यक्ष, महन्त ठाकुर दोस्रो बरियतामा कार्यकारी अध्यक्ष र उपेन्द्र यादव तेस्रो बरियतामा कार्यकारी अध्यक्ष हुने सहमति भएको थियो । समाजवादी पार्टीका नेता अशोक राईले पार्टी दर्ता गरिसकेपछि निर्वाचन आयोग परिसरमा संघीय परिषद् अध्यक्ष बरियतामा पहिलो नम्बरमा रहने प्रतिक्रिया दिनुभएको थियो ।
पार्टी दर्तापछि सार्वजनिक भएका कागजातमा भने डा. भट्टराईको नाम चौथौं बरियतामा छ । राजपा नेता महन्थ ठाकुरले अन्तिम समयमा डा. भट्टराईलाई आफूभन्दा माथि राख्न अस्वीकार गरेपछि उहाँको नाम दोस्रो नम्बरमा राखिएको थियो । तर, डा.भट्टराईले ‘२ नम्बरमा बस्दिनँ बरू उपेन्द्र यादव र अशोक राईभन्दा पछि चौथौ नम्बरमा राखिदिनुस्’ भनेपछि उहाँको नाम टिपेक्स लगाएर मेटिएको छ ।
अन्तिम समयमा बाबुरामको नाममा टिपेक्स लगाएर अशोक राई र राजेन्द्र महतोको नामको बीचमा हातले लेखिएको छ। जसपाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आवश्यक कागजात बुझाएसँगै दल दर्ताको कानूनी अड्चन टुंगिएको भएपनि शीर्ष नेताहरुको वरियता भने टुंगो नेलागेको नेताहरुले बताएका छन् ।
विवाद लम्बिदै जाने र ४५ दिनको समयसीमा नाध्ने खतरा भएपछि भट्टराई आफैंले आफ्नो बरियता तल राखेर आयोगमा कागजात बुझाउने प्रस्ताव गरेको बताइएको छ । त्यसैअनुसार कागजात बुझाइएको र आपसी सल्लाहमा थप कार्यविभाजन हुने नेता नवराज सुवेदीले बताउनुभयो ।
विवाद भएपछि आयोगमा बुझाएको कागजातमा ठाकुर र यादव कार्यकारी समितिको अध्यक्ष छन् भने अशोक राई, भट्टराई र राजेन्द्र महतोको नाम वरिष्ठ नेतामा छ । आयोगमा जसपाको दल दर्ता नम्बर १३९२ छ । कागजातको आवश्यक छानविन गरेपछि आयोगले जसपालाई औपचारिक मान्यता दिनेछ ।
जसपाको विधानअनुसार केन्द्रीय संरचनामा क्रमश राष्ट्रिय महाधिवेशन, सङ्घीय परिषद, केन्द्रीय समिति, केन्द्रिय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, सङ्घीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरिक्षण आयोग रहने छन् । गत बैशाख १० मा राजपा र समाजवादीबीच पार्टी एकताको घोषणा भएको थियो ।


