पार्टी एकीकरण प्रक्रिया पुरा गर्न जसपाका नेताहरु निर्वाचन आयोगमा

विराटनगर । केही समयअगाडि वर्तमान सरकारले ल्याएको पार्टी फुटसम्बन्धी विधेयकका कारण जुट्न पुगेका मधेशका दुई पार्टीले निर्माण गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशवादी दुई पार्टी समाजवादी र राष्ट्रिय जनता पार्टी नेपाल फुटाउने उद्देश्यका साथ झण्डै ७ हप्ता अगाडि पार्टी फुटसम्बन्धी अध्यादेश प्रमाणीकरण गरी लागू गरेको थियो । त्यसको लगत्तै जुटका लागि छलफल चलाएको दुवै पार्टीले रातारात वैशाख १० गते पार्टी एकीकरणको घोषणा गरेका थिए ।

त्यसबेला एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी दर्ता भएको थिएन । निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनभित्र पार्टी दर्ता हुनुपर्ने प्रावधान रहेको छ । ठिक ४५ दिनपछि पार्टी दर्ताका लागि जसपाका नेताहरु आज आयोग पुगेका हुन् ।

दुवै पार्टीबाट २६–२६ जना नेता केन्द्रीय समितिमा छन् । पार्टीको एक नम्बरमा अध्यक्ष महन्थ ठाकुरको नाम राखिएको छ भने दोस्रो नम्बरमा संघीय परिषद् संयोजक डाक्टर बाबुराम भट्टराईलाई राखिएको छ । यसैगरी क्रमशः उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेको छ । अरु सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

अध्यादेश ल्याएपछि उल्टो पार्टी मिलेपछि अप्ठ्रोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले ५ दिनपछि नै उक्त अध्यादेश खारेज गर्नुभएको थियो । सोही अध्यादेश प्रकरणपछि नेकपाको नेतृत्वबीचको विवाद पनि सतहमा आएको थियो । उक्त विवाद अझै साम्य हुन सकेको छैन ।

आइतबार, २५ जेठ, २०७७, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर