विराटनगर । प्रदेश नं. १ मा शनिबार प्रदेश १ मा ७ जना कोरोना संक्रमित थपिएका छन् भने उपचारको क्रममा रहेका १२ जना डिस्चार्ज भएका छन् ।
शनिबार मोरङको बुढीगँगा गाउँपालिकामा एक जना, सुनबर्सी नगरपालिकामा एक जना, सुनसरीको धरानमा एक जना र सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिकामा ४ जना संक्रमित भेटिएका छन् । विराटनगरको कोशी र सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा परीक्षण गर्दा उनीहरुमा कोरोना देखिएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ भने शनिबार १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ९० पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १२ जना शनिबार डिस्चार्ज भएका हुन् । धरानबाट जेठ १८ गते १८ जना डिस्चार्ज भएका थिए ।
संक्रमित १५७ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय अस्पताल गोठगाउँमा उपचाररत छन् । प्रदेशमा ४१३० जना क्वारेन्टाइनमा र ७३० जना होल्डिङ एरियामा रहेको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशमा शनिबारसम्म १० हजार ९५४ जनाको पिसिआर र १३ हजार ३०१ जनाको आरडिटी परीक्षण गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।