विराटनगर । प्रदेश १ मा कोरोना संक्रमित नदेखिएको बेला उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा रहेका जमातीहरुको आरडिटी गरियो । उनीहरुको नतिजा नेगेटिभ आएपनि भारतबाट आएकोले शंका लागेर पिसिआर परीक्षण गर्दा पोजेटिभ देखियो ।
जमातीको पिसिआर परीक्षणमा कोरोना देखिएपछि भुल्के वस्तीमा गरिएको परीक्षणमा ३३ जना संक्रमित भेटिए । अहिले त्यहाँ कोरोना नियन्त्रणमा आएको छ । तर, जमातीको आरडिटी नेगेटिभ आएपछि पिसिआर परीक्षण नगरेको भए त्यहाँबाट कोरोना व्यापक हुने निश्चित थियो ।
सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुष भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा नेगेटिभ आएको भन्दै घट पठाइयो । उनको घर गएकै दिन बिहीबार मृत्यु भएकोमा पीसीआरबाट परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो ।
यी दुई घटना त उदाहरण मात्र हुन्, आरडिटी परीक्षणको विश्वसनीयता नरहेको पुृष्टि गर्ने यस्ता दर्जनौं घटना भएका छन् । आरडिटी पोजेटिभ भएकाहरुको पिसिआर गर्दा नेगेटिभ आउने र आरडिटी नेगेटिभ देखिएकाहरुको पिसिआर गर्दा कोरोना देखिएका घटना धेरै छन् । जसले आरडिटी परीक्षणको औचित्य नरहेको स्पष्ट गरिरहेको छ ।
विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको र नेपालकै जनस्वास्थ्य विज्ञहरुले पनि प्रयोग नगर्न सुझाएको आरडिटी परीक्षणलाई सरकारले भने प्राथमिकतामा राखेको छ । क्वारेन्टाइनमा आरडीटी गरेर नेगेटिभ रिपोर्ट देखिए घर पठाउने अवस्था कति जोखिमपूर्ण छ भन्ने सुर्खेत र भुल्केको घटनाले देखाउँछ । तर, सरकारले भने क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए घर पठाउने मापदण्ड बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए विनापरीक्षण घर पठाइने भएको छ ।
लक्षण नभएकालाई भने १४ दिन राखेपछि कुनै परीक्षण नगरी घर पठाउने गाइडलाइनमा उल्लेख छ । मन्त्रालयले जेठ २० गते जारी गरेको गाइडलाइनमा हाल क्वारेन्टाइनमा रहेकाको भने १५ दिनपछि आरडीटी गर्न सकिने उल्लेख छ ।
सरकारले पीसीआर परीक्षणको दायरा विस्तार गर्नुपर्ने सुझाब विज्ञहरुले दिइरहेको बेला अब सामान्य लक्षण देखिएकाहरुको पनि परीक्षण नगर्ने नीति लिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका धेरैमा कोरोना पुष्टि भइरहेको बेला लक्षण देखिएकाको कुनै परीक्षण नगर्ने वा आरडीटी मात्रै गर्ने सरकारी तयारीले कोरोना संक्रमण अझै विस्तार गर्ने खतरा रहेको छ ।
नेपालमा अहिलेसम्म भेटिएका कोरोना संक्रमित अधिकांशमा कुनै लक्षण छैन । लक्षण नभएका संक्रमितले कोरोना फैलाउने संभावना धेरै हुन्छ । यस्तो अविश्वसनीय आरडीटी उपयोगले झन् समस्या आउने देखिन्छ ।
सुर्खेतमा मृत्यु भएका युवाको पीसीआर परीक्षण गरिएको भए उनले घरमा पुगेर मृत्युवरण गर्नुपर्ने अवस्था आउने थिएन । क्वारेन्टाइनमा बस्नेहरूलाई पीसीआर नगरी छोड्नु र आरडीटीबाट परीक्षण गर्नु घातक हुने चिकित्सकहरुले औल्याउँदै आएका छन् । तर, सरकारले सुनेको छैन ।
पिसिआर परीक्षणको दायरा विस्तार गर्नुपर्नेमा सरकार आरडिटी किटकै खरिदमा केन्द्रित भइहरेको छ । जसले गर्दा कोरोना संक्रमण नेपालमा अझै भयावह हुने जोखिम रहेको छ ।
हाल देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका अधिकांश भारतसहित विदेशबाट आएका सम्भावित कोरोना संक्रमित हुन् । उनीहरुको विनापरीक्षण घर पठाएमा अहिलेसम्म अधिकांश विदेशबाट आएकाहरुमा मात्र रहेको कोरोना समुदायमा फैलनेतर्फ सरकार सचेत हुनुपर्छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।