खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राखेका छन्।
मंगलबार राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीयले वडाध्यक्षलाई क्वारेन्टाइनमा राखेका हुन्।
मङ्गलबार दिउँसैदेखि मादक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेका एक युवकको मोबाइलसमेत खोसेका थिए । राति क्वारेन्टिनमा बसेकालाई हप्काउँदै झगडासमेत गरेको खुलेपछि उनबाबाट कोरोना सङ्क्रमण सर्ने खतरा भएकाले नै क्वारेन्टाइमा राखिएको हो ।
वडाध्यक्ष पुरीले क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हप्कीदप्कीसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्। अधिकांश समय मादक पदार्थ सेवन गरेर बस्ने वडाध्यक्ष पुरीले कार्यालयमा खटिएका कर्मचारीलाई आफ्नै घरमा आएर हाजिर गर्न लगाउने गरेका छन् ।
वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिने नगरप्रमुख इवन राईले बताउनुभयो। ११ वडा कार्यालय रहेको नगरपालिकाको विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले ९ जना राखिएको छ ।
एक सङ्क्रमित युवक भेटिएको नगरपालिकामा १ सय १४ स्थानीय बासिन्दाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गरिएको छ । जसमध्ये काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा उनको परिवार तथा उनीसँगै बसमा यात्रा गरेर आएकाहरुको भने रिपोर्ट नेगेटिभ आएको थियो।
सङ्क्रमित युवकको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ। उपचाररत युवकको अवस्था अहिलेसम्म सामान्य रहेको छ । (रासस)