विराटनगर । मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनले सामाजिक दुरी कायम गरेर भएपनि जिम क्लबहरु खोल्न पाउनुपर्ने माग गरेको छ ।
एसोसिएसनले आज मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिँदै यस्तो माग गरेको हो । लकडाउनका कारण जिम क्लबहरु संचालन गर्न नपाउँदा कर्मचारीलाई तलब तथा सेवासुविधा दिन नसकिएको र कतिपयय बिरामीहरुको उपचार समेत प्रभावित भएको उनीहरुको दाबी छ । फिजियोथेरापी, डाइबिटिज, प्रेसर, डिप्रेसनलगायत अन्य बिरामीले जिम गर्न नपाउँदा समस्या भएको उनीहरुको दाबी छ ।
एसोसिएसनका अध्यक्ष अमलेश कर्ण र महासचिव नविनविक्रम शाहद्वारा दिइएको ज्ञापन पत्रमा आफूहरुले क्लब संचालन गर्दा ज्वरो नापेर मात्रै प्रवेश गराउने, साबुन पानीले हात, खुट्टा धुने र सेनिटाइजर प्रयोग गर्ने, ब्यायम सकिएपछि उक्त स्थानलाई सेनिटाइज गर्नेलगायतका प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।