इटहरा । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ झुर्किया बजारमा राजवंशी समाज विकास समितिको नगर सभाहल भवन निमार्ण हुने भएको छ ।
तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगत बहुबर्षीय योजनामा रहेका उक्त कार्यक्रममा २५ लाख रुपैयामा अढाई तले भवन निर्माण हुने भएको छ ।
सो भवनको आइतबार नेकपा मोरङ जिल्ला कमिटी सचिव गणेश उप्रेतीले शिलान्यास गर्नुभयो । राजवंशी समाजले आफ्नो बंशावलीहरुको संरक्षण गर्न तथा नया पुस्ता संग पनि आफ्नो बंशावलिको पहिचान दिनलाई राख्ने उद्देश्यसहित राजवंशी समाजको भवन निमार्ण गर्ने लागेको समाजका अध्यक्ष रामबहादुर राजवंशीले जानकारी दिनुभयो ।
रतुवामाईमा छरिएर रहेका सबै राजवंशीहरुलाई एकीकृत गर्दै राजवंशी बंशको जर्गेणा गर्ने उद्देश्यले भवनको निमार्ण गर्न लागेको शिवनारायण राजवंशीले जानकारी दिनुभयो ।
राजवंशी जातिको संस्कृती, सम्पदा र साहित्यलाई युगौं युगसम्म संरक्षणका लागी राजवंशी समाजको निर्माण कार्यमा जोड दिएको नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रतीले बताउनुभयो ।
‘राजवंशीहरुको मौलिक तथा पौराणिक संस्कृती,सम्पदाहरु लोप हुने अवस्था छ र कति लोप भैसकेको छ,’ उप्रेतीले भन्नुभयो, ‘त्यसको संरक्षणका लागी यो भवन निर्माण हुनु अति आवश्यक रहेको छ ।’
‘अहिले राजवंशीहरुले प्रयोग गर्ने पूराना समाग्रीहरु र खानाको परिकार पनि हराउँदै गएको छ त्यस्तै राजवंशीको मौलिक संस्कृति पनि लोप हुने अवस्थामा छ,’ अध्यक्ष रामबहादुर राजवंशीले भन्नुभयो, ‘राजवंशी समाज विकास समितिको नगर सभाहलमा ति सबै कुराहरु समावेश गर्ने लक्ष्य रहेको छ ।’
त्यस्तै शिलान्यास कार्यक्रममा नेकपा नेता सुमन कालिकोटे, ४ नम्बर वडा अध्यक्ष देवराज राजवंशीसहित अन्य समितिका सदस्य र स्थानीयहरुको उपस्थिति रहेको थियो ।