विराटनगर । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न गरिएको लकडाउनको समयमा अनलाईन सञ्चार माध्यम प्रभाबकारी देखिएका छन् ।
लकडाउनको समयमा सूचना प्राप्त गर्नको लागि धेरैले अनलाई मिडियालाई पहिलो प्राथमिकतामा राखेको एक अध्ययनले देखाएको छ ।
कोभिड–१९ महामारीको समयमा मिडियाको विश्वसनीयता सम्बन्धी प्रेस काउन्सिल नेपालले गरेको सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा बढी ३१.८० प्रतिशतले अनलाइन मिडियामार्फत सूचना लिने गरेको बताएका हुन् । यस्तै दोस्रोमा २४.४० प्रतिशतले सामाजिक सञ्जाल र २२.७० प्रतिशतले रेडियोबाट सूचना लिने गरेको बताएका छन् ।
शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनअनुसार १८.८० प्रतिशतले टेलिभिजनलाई सूचना प्राप्तिका लागि पहिलो प्राथमिकता राखेका छन् । लकडाउनको अवस्थामा मात्र २.३० प्रतिशत सर्वेक्षणमा सहभागीले मात्रै पत्रपत्रिकालाई आफ्नो दैनिक सूचना प्राप्तिको पहिलो प्राथमिकता मानेका छन् ।
सर्बेक्षणमा मिडियाको जिम्मेवारी र मिडियाप्रतिको विश्वसनीयताका विषयमा केन्द्रित भई ११ वटा वस्तुगत प्रश्न सोधिएको थियो । मिडियाकर्मी, कर्मचारी, प्राध्यापक÷शिक्षक, कृषक, मजदुर, सुरक्षाकर्मी, व्यापारी, चिकित्सक, बैंकर्स, राजनीतिकर्मी र विद्यार्थीलगायत ११ वटा पेशागत क्षेत्र, ७ वटै प्रदेश र सबै जिल्लाको समानुपातिक प्रतिनिधित्व हुनेगरी सर्वेक्षण गरिएको काउन्सिलले जनाएको छ ।
महामारीमा सञ्चार माध्यमको प्रयोगको अवस्थाबारे पहिचान गर्ने, आमउपभोक्ताको धारणा बुझ्ने, सञ्चार माध्यम र पत्रकारका कमीकमजोरी पत्ता लगाई सुधारका उपायबारे सुझाव दिने, अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा काउन्सिलको आगामी नीति तथा कार्ययोजना निर्माण गर्ने उद्देश्यले गरिएको सर्वेक्षण गरिएको थियो । जसमा सबैभन्दा विश्वासिलो मिडिया भने टेलिभिजन भएको ५० प्रतिशत सहभागीले बताएका छन् ।
त्यसपछि पत्रपत्रिका १८.२ प्रतिशत र रेडियो १७.६ प्रतिशतले विश्वास गरेको पाइएको छ । सामाजिक सञ्जालप्रतिको विश्वास भने १.१ प्रतिशत मात्र रहेको देखिएको छ । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३.१० प्रतिशत रहेको देखिन्छ ।
आचारसंहिता उल्लङ्घनको तथ्याङ्कलाई हेर्दा करिब ९०.९ प्रतिशत सहभागीको बुझाइमा सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको देखिएको छ । दोस्रो उल्लङ्घन गर्ने पत्रपत्रिका ४ प्रतिशत र टेलिभिजन ३.४० प्रतिशत रहेको सर्वेक्षणबाट देखिएको छ ।
सर्वेक्षणमा सहभागीले जनमानसमा मिडियाप्रतिको विश्वास बढाउन पत्रकार आचारसंहिताको अनुगमनलाई अझ तीव्र बनाउँदै लैजानुपर्ने, पत्रकारिता तालिम दिनुपर्ने, पत्रकारले पेशाप्रतिको जवाफदेही, इमान्दारिता र पेशाप्रतिको व्यावसायिकतामा ध्यान पु¥याउनुपर्ने र आचारसंहिता उल्लङ्घन गर्नेलाई सजायको व्यवस्था गर्नुपर्ने सुझाब दिएका छन् ।