काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कैद सजायसहितको कारबाही गरेको छ ।
लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा गर्ने र कालोबजारी गर्नेलाई प्रशासनले जरिवाना र कैद सजाय सुनाएको हो ।
ठगी भएको र पसलहरुमा तोकिएको सुरक्षा मापदण्डहरु पालना नभएको गुनासो आएपछि कार्यालयले वैशाख २९ देखि ५ गतेसम्म बजार अनुगमन गरेको थियो । महामारीको समयमा बजारमा अनुगमन गरी नेपालमै पहिलोपटक संक्रामक रोग ऐनमा टेकेर हामीले लापरवाही र ठगी गर्नेलाई सजाय तोेको प्रशासनले जनाएको छ ।
विषम परिस्थितिको मौका पारेर मूल्यमा ठग्न खोज्ने, उपभोग्य मिति सकिएको खाद्य पदार्थ बेच्ने, पसलमा ग्राहकबीच सामाजिक दूरी कायम नगराउने, सेनिटाइजर लगायतको प्रबन्ध नगर्ने ब्यापारीहरु कारवाहीमा परेका हुन् । प्रशासनले एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकेको छ ।
समान्य लापरवाही गर्ने १३ वटा फर्मलाई सय रुपैयाँ जरिवाना, गम्भीर त्रुटी गर्ने १७ वटालाई १५ दिन कैद र अतिगम्भीर लापरवाही गर्ने गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको उपाध्यायले बताए ।
‘ऐनको दफा ३ र ४ ले प्रशासनलाई यस्तो अधिकार दिएको छ,’ उनले भने,‘महामारी फैलिने जोखिम बढिरहेका बेला सरकारले जारी गरेको नियम पालना नगर्नेमाथि शुन्यसहनशीलताका आधारमा कारवाही गरेका हौं ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।