विराटनगर । प्रदेश १ मा सबैभन्दा धेरै ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको झापामा अहिलेसम्म ६ सय जनाको स्वाब परीक्षण भएको छ । स्वाब संकलगन गरिएका ५० जनाको रिर्पाट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा संक्रमित फेला परेका सबैभन्दा धेरै कचनकवल गाउँपालिकाका छन् । सो गाउँपालिकामा क्वारेन्टाइनमा राखिएका १०५ जनाको परीक्षण गर्दा ३३ जना संक्रमित भेटिएका छन् । त्यसबाहेक दमक र बाह्रदशिमा भेटिएका संक्रमित उपचारपछि घर फर्किएका छन् भने शनिबार झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् ।
झापामा संक्रमित भेटिएका दमकका बृद्धबाहेक सबै भारतबाट आएका हुन् । दमकका बृद्धका भने छोरा वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
पछिल्लो समयमा भारतले रेल र यातायात सुचारु गरेपछि रोजगारीको क्रममा गएकाहरु फर्कने क्रमसँगै संक्रमितको संख्या उकालो लागेको हो । कचनकबल गाउँपालिकाले भारतबाट आएकाहरुलाई ५ स्थानमा क्वारेन्टाइन बनाएर राखेको छ । गाउँपालिकामा क्वारेन्टाइनमा रहेका २२६ जनाको अझै परीक्षण गर्न बाँकी रहेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताउनुभयो ।
गाउँमा संक्रमण नफैलियोस् भनेर गाउँपालिकाले सचेतना अपनाएकोले स्थानीयमा भने संक्रमण देखिएको छैन । तर, क्षमताभन्दा बढि मानिस राख्नुपर्ने बाध्यताले सामाजिक दुरी कायम गर्न पनि निकै चुनौती थपिएको अध्यक्ष आलमको भनाइ छ ।
भारतबाट नेपाली नआउदासमम कचनकवल कोरोनामुक्त थियो । तर, सिमानाबाट नेपाली प्रवेशसँगै कोरोना पनि प्रवेश गरेको हो । यतिबेला गाउँपालिकालाई सिल गरिएको छ । तर, सिमानाबाट नेपाली प्रवेश रोकिएको छैन ।
कचनकवलमा ४६ किलोमिटर खुला सीमाना छ। कोरोनाको महामारीपछि चार सय मिटरको दुरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ । समय मिलाएर सुरक्षाकर्मीको २४ सै घन्टा ड्युटी खटाइएको छ ।
सीमाबाट दैनिक ५० जना भित्रिरहेका छन् ।
सरकारले आवश्यक मात्रामा किट नपठाएको थप व्यक्तिको परीक्षण हुन नसकेको आलमले बताउनुभयो । कोरोना परीक्षणमा आरडिटीको नतिजाले कुनै निश्कर्ष नदिएको भएपनि भारतबाट आएकालाई आरडिटी मात्र गरिएको छ । भारतबाट काँकडभिट्टा आइपुगेका ३ सय १५ जनाको आरडिटी गर्दा १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएछि उनीहरुको मात्र स्वाब संकलन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।