मोरङमा शुक्रबार पहिचान भएका संक्रमितको स्रोत भारत

जिल्लाभर २०० जना क्वारेन्टाइनमा, २ संक्रमित भेटिएको रतुवामाईमा ८१ जना क्वारेन्टाइनमा

विराटनगर । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मोरङको रतुवामाई नगरपालिका २ का ४१ वर्षीय पुरुष भारतबाट आएको खुलेको छ ।

बुधबार बिहान भारतको अहमदाबादबाट अन्य दुई साथीसहित आएका उनमा संक्रमण पुष्टि भएपनि साथीहरुको रिपोर्ट नेगेटिभ आएको रतुवामाई नगरपालिकाले जनाएको छ ।

उनीहरूको बुधबारै स्वाब संकलन गरिएको थियो । लुकिछिपी नेपाल प्रवेश गरेका उनीहरुलाई सीमाबाटै नगरपालिकाले क्‍वारेन्टाइनमा लगेको थियो ।

पछिल्लो संक्रमित व्यक्ति फेला परेसँगै मोरङमा ५ जनामा कोरोना पुष्टि भएको छ । जेठ २ गते रतुवामाई नगरपालिका १ का २५ वर्षीय युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी भारतबाटै आएका हुन् ।

विराटनगरमा संक्रमित देखिएकी महिला पनि भारतबाटै आएकी हुन् । त्यसबाहेक मोरङको पथरी घर भई सुनसरीमा कार्यरत सशस्त्र प्रहरी र विराटनगर महानगरका सफाइ कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

पछिल्लो समयमा रोजगारीको क्रममा गएकाहरु भारतबाट फर्कने क्रम बढेको छ । उनीहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने र परीक्षण गराउने काम स्थानीय तहहरुले गरिरहेका छन् ।

मोरङमा ४४५ बेडको क्वारेन्टाइन सञ्चालनमा रहेको र हाल २०० जना बसिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । शुक्रबारसम्म घिनाघाट प्रा.स्वा.केन्द्रमा १२, रंगेली अस्पतालमा ७, रंगेली जनता क्याम्पसमा १२, कर्सिया स्वास्थ्य चौकीमा १, जहदाको दुर्गा माबिमा ५, कानेपोखरीको स्वास्थ्य केन्द्रमा ४ जनालाई राखिएको छ । यस्तै बुढिगंगाको नारायण माबिमा २, केराबारीको स्वास्थ्य केन्द्रमा १, पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा ४९, रतुवामाईको आजेजिया मदर्सामा १२, रतुवामाईकै सिजुवा माबिमा १, रतुवामाईकै सौठा माबिमा ३, रतुवामाई ५ स्लामिया महरुल मदर्सामा ३ र रतुवामाई २ डोरिया स्कूलमा ३ जना राखिएको छ । यसैगरी रतुवामाई ९ जनता माबि ठकठकेमा ११, रतुवामाई १ शारदा प्रा.बि.मा ३४, रतुवामाई २ बाबुल उलुम मदर्शामा ५, रतुवामाई १ उमरफारुक मस्जिदमा ९, उर्लाबारी ६ राधिका माबिमा १३, पथरीशनिश्चरे १ क्याम्पसमा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

विराटनगरमा रहेको कोभिड १९ उपचार केन्द्रमा ३४ जना कोरोना संक्रमितको उपचार भइहरेको छ भने कोशी अस्पतालको आइसोलेसनमा कोरोना शंकास्पद २ जना र उर्लाबारीको मंगलबारे अस्पतालको आइसोलेसनमा कोरोना शंकास्पद १ जना राखिको छ ।

शुक्रबार, ०९ जेठ, २०७७, साँझको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर