विराटनगर । प्रदेश १ बिहीबार थप ८ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको हो ।
प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाको केचनाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । उनीहरु सबै भारतबाट आएका हुन् ।
योसँगै झापामा संक्रमितको संख्या ३५ पुगेको छ । झापामा ३३ जना संक्रमित भेटिएको झापाले उछिनेको छ । प्रदेश १ मा बिहीबारसम्म ८४ जना संक्रमित भेटिएका छन् । जसमध्ये उदयपुरमा ३३ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ४५३ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा ३ जनाले ज्यान गुमाएका छन् भने ४५ जना उपचारपछि निको भएका छन् ।