विराटनगर । रुपन्देहीमा उपचाररत गुल्मीका कोरोना संक्रमित युवाको बिहीबार बिहान निधन भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
संक्रमित व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । साथै प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि संक्रमितको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उपचारका क्रममा बिरामीको बिहान ७ बजे निधन भएको हो । केही दिनदेखि गम्भीर अवस्था रहनुभएका उहाँको भेन्टिलेरमा राखेर उपचार हुँदै आएको थियो ।
मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् । शिक्षण पेशामा रहेका उहाँ बिरामी भएपछि थप उपचारका लागि रुपन्देहीको मणिग्राममा पुग्नु भएको थियो ।
अस्पताल सञ्चालकले दिएको गलत जानकारीका आधारमा बुधबार नै उहाँको मृत्यु भएको हल्ला फैलिएको थियो । अस्पताल सञ्चालककै सूचनाका आधारमा हिजो प्रदेश ५ का सामाजिक विकासमन्त्रीले पनि बिरामीको मृत्यु भएको प्रतिकृया दिनुभएको थियो । पछि अस्पतालले विज्ञप्ति प्रकाशन गरेर गल्ति सच्याएको थियो ।
यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।
हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।