विराटनगरमा घरभित्रै गाडिएको शव बरामद

विराटनगर । विराटनगर– १४ झटियाइमा एक जना वृद्धको घरभित्र गाडिएको अवस्थामा शव फेला परेको छ ।

स्थानीय ५५ वर्षीय सत्यराम चौहानको शव आफनै घरभित्र करिब तीन फिट गहिरो खाडल खनेर गाडिएको अवस्थामा बुधबार साँझ प्रहरीले बरामद गरेको हो ।

जस्तापाताले छाएको माटोको घरभित्र चौहान सुत्ने खाटमुनी खाडल खनेर गाडेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङ, इप्रका रानी विराटनगरको प्रहरी पुगेर शव उत्खनन् गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

बाबुछोरा मात्रै बस्दै आएको घरमा बाबुको शव भेटिएको हो । सत्यनारायणका ३ छोरामध्ये उनीसँग घरमा जेठा छोरा २९ वर्षीय रोहित चौहान बस्दै आएका थिए । माईला छोरा नगेन्द्र चौहान रानी भट्टीमोडमा बस्दै आएको र कान्छो पनि घरबाहिर रहेको प्रहरीले जनाएको छ ।

शव हेर्दा ४/५ दिन अगाडि नै हत्या गरी गाडेको हुनसक्ने प्रहरीको अनुमान छ । घरभित्र गाडेको अवस्थामा भेटिएको शवलाई कोशी अस्पतालमा पोष्टमार्टमको लागि लगिएको छ ।

प्रहरीले दुवै छोरालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी जानकारी दिनुभयो ।

बुधबार, ०७ जेठ, २०७७, साँझको ०७:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर