प्रदेश १ बाट थप ८ संक्रमित डिस्चार्ज, प्रदेशमा निको हुनेको संख्या २६ पुग्यो

विराटनगर । प्रदेश १ बाट थप ८ जना कोरोना संक्रमितहरु निको भई बुधबार डिस्चार्ज भएका छन् ।

वैशाख ५ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ५ भारतीय नागरिक र ९ गते भर्ना भएका उदयपुरको भुल्केका स्थानीय छन् ।

उदयपुरको त्रियुगा भुल्केस्थित मस्जिदमा रहेका भारतीयमा कोरोना देखिएपछि परीक्षण गर्दा स्थानीय पनि संक्रमित भेटिएका थिए । बुधबार कोरोना जितेर डिस्चार्ज हुनेहरुमा भुल्केका ४६ वर्षीय मो.इद्रिस, २८ वर्षीय मो.साविर र ४० वर्षीय मो.सनौला छन् । यस्तै भारतीय नागरिकहरु मो.साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । ८ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ ।

कोभिड अस्पतालमा अहिले २८ जना उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या भने ५९ पुगेको छ । धनकुटाका ५ जना संक्रमित कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत बस्नेतले बताउनुभयो ।

बुधबार, ०७ जेठ, २०७७, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर