अनुज्ञापत्र बिनै खाद्यान्न विक्री गर्दै गोरखा डिपार्टमेन्ट स्टोर, ५० हजार जरिमाना

विराटचौक । मोरङ सुन्दरहरैचा नगरपालिका–१० स्थित विराटचौकको गोर्खा डिपार्टमेन्ट स्टोरले उद्योगमा दर्ता नगरी आफनै पसलको नाममा प्याकेजिङ्ग गरि खाद्यान्न विक्री वितरण गरिएको पाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा बेच्न राखिएको खाद्यान्य लगायतको सामानमा उत्पादन मिति र म्याद गुज्रीएका सामान पनि भेटिएको छ ।

डिपार्टमेन्ट स्टोरले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र पनि नलिइकन खाद्यान्य विक्री वितरण गरिएको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले ५० हजार रुपैयाँ जरिमानासमेत गरेको छ ।

आउँदा दिनमा म्यात सकिएको खाद्य बस्तु विक्री वितरण नर्गन र प्याकेजिङ्ग उद्योगमा दर्ता गराइ खाद्य अनुज्ञापत्र लिएर मात्र विक्री वितरण गरिन कडा निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालय विराटनगरका उद्योग अधिकृत गोकुल केसीले बताउनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको च्याउमा किरासमेत भेटेको थियो ।

थाइल्याण्डबाट आयात गरेर ल्याएको भनिएको उक्त च्याउमा ढुसी परेर किरा लागेको अवस्थामा फेला पारेको केसीले जानकारी दिनुभयो । किरा भेटिएको च्याउमा उत्पादन मिति र म्याद सकिने मिति पनि उल्लेख थिएन । संयुक्त बजार अनुगमन टोलीले किरा भेटिएको च्याउ पूर्ण रुपमा नष्ट गरेको छ ।

यस्तै सोही दिन गरिएको अनुगमनको क्रममा सुन्दरहरंैचा नगरपालिकास्थित जुनतारा बजारमा सुप र विभिन्न मसलामा म्याद सकिएका सामान भेटिएको छ । थोरै परिणाममा म्याद सकिएको सामान भेटिएकोले न्यूनतम १० हजार रुपैयाँ जरिमाना गरिएको बताइएको छ । यस्तै सगुन किराना स्टोरमा पनि अनुगमन गरिएको छ ।

उक्त स्टोरलाई उपभोक्ता हित संरक्षण ऐनको पूर्ण पालना गरि विक्री वितरण गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा अखाद्य वस्तु विक्री वितरण गरिने फर्मलाई कारबाहीको दायरामा ल्याउने सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताउनुभयो ।

शनिबार, ०३ जेठ, २०७७, रातीको ०८:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर