विराटनगर । प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि प्रदेश सरकारको पहलमा होमियोपेथिक औषधि हस्तान्तरण गरिएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. सरोजप्रसाद विशाल र नेपाल होमियोप्याथिक एशोसियनका अध्यक्ष डा.केपी सुवेदीले त्रियुगा नगरप्रमुख वलदेव चौधरीलाई होमियोपेथिक औषधि हस्तान्तरण गर्नुभएको हो ।
उदयपुर उच्च जोखिममा रहेको जिल्ला भएकाले पहिलो चरणमा भुल्केमा औषधि लगिएको डा. विशालले बताउनुभयो । प्रत्येक दिन विहान खालीपेटमा तीन दिनसम्म होमियोपेथिक औषधि खानुपर्ने डा।सुवेदीले बताउनुभयो । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम सम्बन्धि मापदण्ड अनुसारको औषधि त्रियुगा ३ भुल्केका बासिन्दाका लागि हस्तान्तरण गरिएको हो ।
आयातित औषधि खपत गरेर नेपालमा कोरोना जित्न सम्भव नभएकाले स्थानीय स्रोत साधानलाई परिचालन गरेर रोगप्रतिरोधात्मक क्षमता बढाउने होमियोपेथिक औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको डा. विशालले बताउनुभयो । होमियोपेथिक औषधि स्थानीयवासीलाई वितरण गर्नुअघि औषधिको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रदेश सांसद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले औषधिको गुणस्तरीयता र उपयोगिताको बारेमा जानकारी लिनुभएको थियो । टोलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जना र भुल्केका सबैलाई तीन दिनसम्म पुग्ने औषधि उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

