उर्लाबारी । कानूनविपरित कारोबार गर्ने मोरङको मिक्लाजुङ स्थित मधुमल्ला बजारका ९ वटा पसललाई जरिवाना गरिएको छ ।
फार्मासिस्टजिना र दर्ता नवीकरणसमेत नगरी सञ्चालित मिक्लाजुङ ९ को प्राची फार्मेसी शिल गरिएको छ भने अन्य पसललाई ५ हजारको दरले जरिवाना गरिएको छ ।
मिक्लाजुङ गाउँपालिका उपभोत्ता हित संरक्षण समिति तथा अनुगमन समिति, वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय मोरङ, औष्धि व्यवस्था विभाग मोरङले सोमबार बजार अनुगमन गरी कार्वाही गरेको हो । प्राची फार्मेसी सञ्चालकलाई औषधि व्यवस्था ऐन २०३५ बमोजिम कार्यालयमा बोलाएको औषधि व्यवस्था विभागले जनाएको छ ।
जनकल्याण औषधि पसल र नेहारीका मेडिकोलाई आवश्यक समन्वयको लागि औषधि व्यवस्था ऐन २०३५ बमोजिम कार्यालय बोलाइएको विभागका प्रतिनधि खेमलक्ष्मी निरौलाले जानकारी दिनुभयो । यस्तै मिक्लाजुङ गाउँपालिका–७ र ९ का ८ वटा खाद्यान्न र किराना पसलको समेत अनुगमन गरि म्याद नाघेका खाद्य तथा पेयपदार्थहरू बिक्री गर्नेलाई जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मोरङका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।
अनुगमन गरी जरिबाना गरिएका पसलहरूमा राजु किराना तथा खाद्य पसल, शौरभ ट्रेडर्स, महेश किराना, प्रकाश किराना पसल, दीपा किराना, मुस्कान किरान पसल, मधुमल्ला किराना पसल र प्रज्ञा किराना पसल छन् । ती पसललाई पाँच हजारका दरले जरिबाना गरिएको छ ।
मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईले व्यवसायीहरूलाई सुध्रिनका लागि सुझाव दिएपनि वेवास्ता गरेकोले जरिवाना गरेको बताउनुभयो । अझै गल्ती भेटिएमा कडा कार्वाही गरिने अनुगमन टोलीले जनाएको छ ।

