पाँचथर । पाँचथरमा हालसम्म ९०० बढीको कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । दुई चरणमा गरी आइतबारसम्ममा ९३६ जनाको आरडिटी परीक्षण सम्पन्न भएको छ।
पहिलो चरणमा वैदेशिक रोजगारीबाट आएका तथा तिनको सम्पर्कमा पुगेका गरी करिब २०० जनाको आरडिटी सम्पन्न भएको थियो । पछिल्लो चरणमा लकडाउनको समयमा राजधानी काठमाडौँसहित जिल्ला बाहिरबाट जिल्ला भित्रिएका तथा विदेशबाट आई लुकिछिपी बसेकाको शीघ्र परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।
परीक्षणमा एक जनाको आरडिटीको नतिजा पोजेटिभ देखिएकोमा स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा आएको छ । जिल्लास्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिसहितका सरकारी निकायको पहलमा यहाँ १०५० थान शीघ्र डाइग्नोष्टिक परीक्षण किट मगाइ परीक्षण गरिएको हो ।
अधिकांशको शीघ्र परीक्षण गरिएपछि यहाँका अधिकांश क्वारेन्टाइन खाली भएका छन् । शीघ्र परीक्षणपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाइएको हो ।
विदेश तथा जिल्ला बाहिरबाट आउनेहरु गाउँ केन्द्रित भएपछि विशेषत ग्रामीण क्षेत्रमा सङ्क्रमणको त्रास बढेको थियो । तर, ठूलो सङ्ख्यामा शीघ्र परीक्षणपछि यस्तो त्रास क्रमशः हटेको हो ।
पाँचथरका ४२ जनाको स्वाबको पीसीआर बिधिबाट परीक्षण सम्पन्न भएको छ । कोशी अस्पताल विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण गरिएको हो । सबैको नतिजा नेगेटिभ आएकोले सन्तोष रहेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताउनुभयो ।

