विराटनगर । नेपाली कांग्रेस सांसद गगन थापाले सोमबार प्रतिनिधिसभाको शुन्य समयमा एउटा व्यंग्य कविता सुनाउनुभएको छ ।
भारतले नेपाली भूमि मिचेको र विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा नसुनी प्रधानमन्त्री कविता सिर्जना गरेर बसेको भन्दै थापाले प्रधानमन्त्रीलाई समर्पित भन्दै ‘म त भाग्यमानी’ शीर्षकको बाल कविता सुनाउनुभएको हो ।
थापाले प्रधानमन्त्रीलाई समर्पित गर्दै सुनाएको बाल कविता :
म त भाग्यमानी
छैन यहाँ देशको, नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको !
यस्तो सबल सरकार छ, सीमा कसले मिच्नी
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्नी !!
सयौं कोश हिँड्दा पनि, श्रमिक छैनन् आहत
गरिबलाई सम्मान छ, सरकारबाट राहत !
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै हैनन् !!
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको सारै मर्म बुझ्ने !
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यती !
सरकार यस्तो इमान्दार, यस्तो स्वाभिमानी
आलोचना ग्रहण गर्छ सल्लाह सुझाव ठानी !
सबैतिर वाह ! वाहै ! यस्तो विकास देख्दा
पत्रकार नि दंग छन्, यी समाचार लेख्दा !!
कोमल हृदयका प्रधानमन्त्री, आँसु कवि हाम्रा
दिन नबिराई सृजना छ, आहा कति राम्रा !
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भट्याउँदै कालापानी जाउँला !!
सारा नेपाल हाँसेको छ, मेची–काली गाउँछ
आँसु आए बरु त्यही गीतले आउँछ !
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो ! हामी नेपाली त सारै भाग्यमानी !!
अहो ! सारै भाग्यमानी
म त भाग्यमानी ।