विराटनगर । सप्तरीमा एक जना प्रहरी हवल्दारको ड्युटीमा रहेको बेला विहीबार विहान अचानक मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयभित्रै ड्युटीमा रहेका ३७ वर्षीय मगर एक्कासी ढलेका थिए । उदयपुर घर भएका उनको तत्काल मृत्यु भएको उहाँको भनाइ छ । उनको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने प्रहरीको भनाइ छ ।
यसअघि सप्तरीमै एक जना सशस्त्र प्रहरीका असईको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको सोमबार मृत्यु भएको थियो ।

