जनकपुर । सालीसँग रहेको अवैध सम्बन्ध श्रीमतिले थाहा पाएपछि धनुषामा एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् ।

मिथिला नगरपालिका ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले सालीसँग विवाह गर्न २५ वर्षीया श्रीमती विणा लामाको हत्या गरेका हु्न् ।

हत्या अभियोगमा हरिलाई पक्राउ गरिएको प्रहरीले जनाएो छ । मृतक विणाको ४ वर्षीया छोरी र साढे दुई वर्षका एक छोरा छन्। विणाको हत्या हरिले सालीसँग मिलेर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

हरिले विणालाई बाली काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर सलले घाँटी बेरेर हत्या गरेका थिए । वैशाख १८ गते हत्यापछि जंगलमा गाडिएको शव ४ दिनपछि उत्खन्न गरेर निकालिएको छ।

चौहानले सालीसँग मिलेर हत्याको योजना बनाएको र हत्याअघि जंगलमा खाडल खनेर तयार राखेको खुलेको इलाका प्रहरी कार्यालयका ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिनुभयो । पाँच वर्ष अगाडि विणासँग अन्तरजातीय विवाह गरेका हरि घरबाट बहिस्कृत भएपछि ससुरालीको छेउमै घर बनाएर बसेका थिए ।

साली गंगासँगको अवैध सम्वन्धबारे विणालाई थाहा भएपछि उनको हत्या भएको प्रहरीले जनाएको छ । सालीले दिदी घरमा रहेसम्म श्रीमती बन्न सक्दिनँ भनेर दबाब दिएपछि हत्या गरेको बयान उनले प्रहरीमा दिएका छन् । शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार साँझ उत्खनन् गरेको छ ।

सडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।