काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट ७३ नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन थरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ७३ गैरआवासीय नेपालीको मृत्यु भएको हो ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा १५ जनामको मृत्यु भएको । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।
यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा.संजिव सापकोटाले जानकारी दिनुभयो । नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना उपचारपछि निको भएको अनुमान एनआरएनएले गरेको छ ।
एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको छ । कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् । मध्यपूर्वका बिभिन्न देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युकेमा १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साइप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संघले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको जनाएको छ । विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीहरुलाई राहत वितरण गरिएको संघको भनाइ छ ।
स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गर्नुभएको छ । (रासस)